काठमाडौं- बजारमा ग्यासको अवस्था सहज बनाउन नेपाल आयल निगम लिमिटेडले आइतबारबाट लागू हुनेगरी नयाँ व्यवस्था ल्याएको छ।
निगमका अनुसार ग्यास बिक्रेता र डिष्ट्रिब्यूटर्सकहाँ मौज्दातमा भएको १४.२ केजीको ग्यास भरिएको सिलिण्डर आइतबार दिउसो १ बजेसम्म बेचिसक्नुपर्नेछ।
१ बजेसम्म भरी ग्यास बिक्री नभएको अवस्थामा सम्बन्धित ग्यास उद्योगमा फिर्ता पठाइसक्नुपर्नेछ।
ग्यास वितरक र डिलरले आफूसँग अब आधा सिलिण्डर अर्थात ७.१ केजीका सिलिण्डरमात्र राख्न पाउनेछन्। भरी सिलिण्डर मौज्दात रहेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुने निगमले जनाएको छ।
त्यस्तै अब जुनसुकै कम्पनीको ग्यास पनि अर्को कम्पनीले सजिलै साट्नुपर्नेछ।
निगमबाट अर्को व्यवस्था वा निर्देशन नभएसम्मका लागि ग्यास व्यवसायीहरुले एक आपसमा सहमति गरी एक अर्काको सिलिण्डर रिफिल गरी गुनासोरहित ढंगबाट सहज, सरल र समानुपातिक ढंगबाट बिक्री गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।
उपभोक्ताको जानकारीको लागि सम्पूर्ण ग्यास विक्रेता र डिष्ट्रिव्युटर्सले दैनिक सुरुवाती मौज्दात र निजकहाँ प्राप्त हुने भएको ग्यासको विवरण सर्वसाधारणले देख्ने गरी ग्यास बिक्री स्थलमा अनिवार्य टाँस गरी राख्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न पनि निगमले निर्देशन दिएको छ।