काठमाडौं- विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ हजार नजिक पुगेको छ।
गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर तीन हजार ९५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर ३३ हजार ९ सय ५६ पुगेको छ। यो तथ्यांक सोमबार बिहान पौने सात बजेसम्मको हो।
कोरोना भाइसबाट विश्वभर हालसम्म सात लाख २१ हजार ४ सय १२ जना संक्रमित भएका छन्। आइतबार एकै दिन विश्वमा ५८ हजार २ सय ८५ जना नयाँ संक्रमित देखिएका छन्।
संक्रमित मध्ये अहिलेसम्म १ लाख ५१ हजार ४ जना उपचारपछि पूर्ण रुपमा निको भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।
अहिलेसम्म कोरोना संक्रमणबाट सबैभन्दा धेरै ज्यान गुमाउने विश्वका १० मुलुकमा क्रमशः इटाली, स्पेन, चीन, फ्रान्स, इरान, अमेरिका, युके, नेदरल्यान्ड, जर्मनी र बेल्जियम बनेका छन्।
गएको २४ घन्टामा सबैभन्दा बढी स्पेनमा ८ सय २१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।
त्यहाँ हिजो एकै दिन झण्डै सात हजार नयाँ संक्रमित थपिएका छन्। स्पेनमा अहिलेसम्म ६८ सय ३० जनाको मृत्यु भइसकेको छ।
आइतबार इटालीमा कोरोना संक्रमणबाट ७ सय ६५ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म १० हजार सात सय ७९ जनाको मृत्यु भइसकेको छ। ९७ हजार ६ सय ८९ जना संक्रमित भएका छन्।
अमेरिकामा आइतबार कोरोना संक्रमणबाट २ सय ५५ जनाले ज्यान गुमाएका छन्।
त्यहाँ अहिलेसम्म २४ सय ७५ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ। संक्रमितको संख्या एक लाख ४१ हजार ८ सय ५४ पुगेको छ। यो संख्या विश्वमा सबैभन्दा बढी हो।
फ्रान्समा आइतबार कोरोना संक्रमणबाट २ सय ९२ जनाले ज्यान गुमाएका छन्।
त्यहाँ २५ सय ९९ जना नयाँ संक्रमित थपिएका छन्। फ्रान्समा अहिलेसम्म २६ सय ६ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ भने संक्रमितको संख्या ४० हजार नाघेको छ।
त्यसैगरी युकेमा आइतबार २०९ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या १२ सय २८ पुगेको छ।
संक्रमितको संख्या १९ हजार नाघेको छ। हिजो एकैदिन त्यहाँ २४ सय ३३ जना नयाँ संक्रमित फेला परेका छन्।
जर्मनीमा आइतबार एकैदिन कोरोना संक्रमणबाट १०८ जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितको संख्या ६२ हजार नाघेको छ।
इरानमा कोरोना संक्रमणबाट आइतबार १ सय २३ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म २६ सय ४० जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्या ३८ हजार नाघेको छ।
त्यसैगरी नेदरल्यान्डमा आइतबार कोरोना संक्रमणबाट १ सय ३२ जनाले ज्यान गुमाएका छन्।
त्यहाँ हिजो एकै दिन ११ सय ४ जना नयाँ संक्रमित थपिएका छन्।
नेदरल्यान्डमा संक्रमितको संख्या करिब नौ हजार पुगेको छ भने मृतकको संख्या ७७१ पुगेको छ।
त्यसैगरी बेल्जियममा आइतबार ७८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। अहिलेसम्म त्यहाँ ४३१ जनाको मृत्यु भइसकेको छ।
संक्रमण नियन्त्रण हुँदै गएको चीनमा यसको संक्रमणबाट अहिलेसम्म ३३ सयले ज्यान गुमाइसकेका छन्।
अहिलेसम्म विश्वका एक सय ९५ भन्दा बढी देशमा यसको संक्रमण फैलिइसकेको छ।