काठमाडौं- साउदी अरेबियामा रहेका नेपाली श्रमिकलाई खानबस्न कुनै समस्या परेमा आफ्नो विवरण दूतावासमा टिपाउन रिहादस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ।
नेपाली दूतावासले सबै नेपाली श्रमिकलाई आफ्नो यथार्थ समस्या दूतावासमा जानकारी गराउन आग्रह पनि गरेको छ।
श्रमिकले भने त्यहाँको नेपाली दूतावासको फोन रिसिभ नभएको भन्दै गुनासो गदै आएका छन्। विगत चार वर्षदेखि साउदीमा कार्यरत पर्वतको बाच्छा स्थायी घर बताउने विमल पराजुलीले एक महिनादेखि साउदीमा काम नभएर बेखर्ची भई खानबस्नै समस्या भएर दूतावासमा फोन गरे पनि नउठेको गुनासो गरे।
गएको एक वर्षदेखि साउदीमा अवैध भएर हार्डवेयर पसलमा काम गरिरहेका उनलाई साहुले कामबाट निकालेसँगै बेखर्ची भएर केही दिनदेखि नेपाली साथीको डेरामा आश्रय लिएर बसेका छन्।
‘दूतावासमा धेरैपटक फोन गरे तर रिसिभ नै भएन, खान बस्नै समस्या भएर अहिले साथीकोमा आश्रय लिइरहेको छु, उहाँको पनि कमाइ छैन, बाँच्नै समस्या भएको छ,’ उनले भने।
साउदीको दूतावासले भने साउदीमा समस्यामा परेका नेपालीलाई स्रोतसाधनले भ्याएसम्म सहयोग गरिरहेको जानकारी गराएको छ।