काठमाडौं- नेपाल टेलिकमले चालु आर्थिक वर्षको ९ महिनामा ७ अर्ब ५६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीले गत वर्षको साेही अवधिमा ७ अर्ब ९० करोड रुपैयाँ नाफा गरेको थियो। गत वर्षको तुनामा ४.२७ प्रतिशतले नाफामा गिरावट आएको छ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा कम्पनीले कूल सेवा बापत २७ अर्ब ५० करोड रुपैयाँ आम्दानी गरेकोमा यस वर्षको साेही अवधिमा २६ अर्ब ८३ करोड रुपैयाँ आर्जन गरेको हो।
गत वर्षभन्दा यस वर्ष आम्दानीमा कम आउनुको प्रमुख कारण २०७५ चैत्र १ गतेदेखि कम्पनीले रिचार्ज कार्डको बिक्रीमा कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न सुरु गरेकोले भएको हो।
कमिसन कूल बिक्रीलाई हिसाब गरिसकेपछि प्रदान गरिने तर डिस्काउन्ट बिक्रीअघि प्रदान गरिने हुँदा डिस्काउन्टको कारणले पनि सेवा बापतको आय घटेको हो।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उक्त डिस्काउन्ट रकम ८५ करोड ३३ लाख रुपैयाँ रहेको छ। गएका वर्षमा यस्तो आम्दानी गणना गरिन्थ्यो, तर अहिले यस्तो आम्दानी गणना नगर्दा नाफामा गिरावट देखिएको कम्पनीले जनाएको छ।
यदि यस्तो आम्दानी गणना गरिने हो भने कम्पनीको नाफा पहिलाको भन्दा धेरै देखिन्छ। यदि यस्तो रकम जोडियो भने गत आर्थिक वर्षको तुलनामा १८ करोडले नाफा बढी देखिन्छ।
कम्पनीको आम्दानी घट्नुमा कोरोना भाइरसको महामारी नियन्त्रणको लागि भइरहेको लकडाउनको अवधिमा कम्पनीले चैत महिनाभरि टपअपमा प्रदान गरेको १०० प्रतिशत बोनस रकमले पनि हो। यस्तो रकम ५३.४ करोड रुपैयाँ बराबरको रहेको छ।
सोही अवधिमा शून्य ब्यालेन्स भएका मोबाइल प्रयोगकर्ताहरुलाई ५.३ करोड रुपैयाँ बराबरको जिरो ब्यालेन्स प्याकेज प्रदान गरिएको थियो। त्यसैगरी मोबाइल सेवाको आधारभूत दरमा २७ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट मात्रै ८.२ करोड रुपैयाँको छ।
यसरी लकडाउनको कारण कम्पनीको आयमा कूल ६६.९ करोड रुपैयाँ बराबरको नकारात्मक असर परेको हो। यसबाहेक कम्पनीले कोरोना राहत कोषमा १० करोड रुपैयाँ योगदान गरेको छ।
उल्लेखित प्रत्यक्ष असरका अतिरिक्त समीक्षा अवधिमा विदेशी विनिमयदर (अमेरिकी डलरलगायत)मा भएको वृद्धि तथा बाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तारसँगै घरभाडा, बिजुली आदिको खर्चमा भएको वृद्धि, नेटवर्क तथा सेवा विस्तारको क्रममा टिम परिचालनको लागि लाग्ने खर्च वृद्धि आदिको कारण पनि व्ययभार बढ्न गई मुनाफामा असर परेको हाे।
कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ। जगेडा कोषमा ७६ अर्ब ९७ करोड रुपैयाँ जम्मा भएको छ। त्यस्तै प्रतिशेयर आम्दानी ६७ रुपैयाँ छ। गत वर्षको साेही अवधिमा ७० रुपैयाँ थियो।