काठमाडौं- नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीतर्फका गरी नौ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये एक जना नेपाली सेनाका उच्च तहका व्यक्ति छन्।
शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार काभ्रे घर भई मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत २६ र ५२ वर्षीय सैनिकमा कोरोना संक्रमण पुष्टि भएको खबर आजको राजधानी दैनिकले छापेको छ।
संक्रमण देखिएका दुवै जना पुरुष हुन् । उनीहरूमध्ये एक जना उच्चपदस्थ सैनिक अधिकृत भएको स्रोतले जनाएको छ। सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सोबारे प्रस्ट्याउन चाहेनन् ।
उनले दुवै जना नेपाली सेनामा कार्यरत रहेको पुष्टि गरे । उनले संक्रमित दुवै सैनिक यस बीचमा कहाँ–कहाँ पुगेका थिए भन्ने बारे छानबिन थालिएको जानकारी दिए।
यसैगरी, नेपाल प्रहरीतर्फ तीन जनामा संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी निरजबहादुर शाहीले प्रहरीतर्फ तीन जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
प्रहरीतर्फ कपिलवस्तुमा कार्यरत नेपाल प्रहरीका सई, हबलदार र जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक जवानमा संक्रमण देखिएको हो।