काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम पश्चिममा तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी घटाइएको घटनाको छानबिन गर्नका लागि संसदीय समिति बनाउन माग गरेको छ ।
प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकमा बोल्दै कांग्रेसका सांसद तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले घटना छानविनको लागि संसदीय समिति गठन गर्न माग गरेका हुन् ।
उनले सत्तारुढ दलकै स्थानीय तहका प्रतिनिधिहरुले घटनालाई तोडमोड गर्न लागिपरेको भन्दै उनले यस्तो कार्यमा आपत्ति समेत जनाए ।
उनले पीडित दोषीलाई कानुनी कारबाहीका लागि छानबिन समिति गठन गर्न माग गर्दे पीडित पक्षलाई राहत र क्षतिपूर्ति दिन समेत माग गरेका छन् । सांसद विश्वकर्माले घटनाका बारेमा गृहमन्त्रीले संसदमा जवाफ दिन समेत माग गरेका छन् ।
‘यो घटनालाई छानविन गर्नका र सत्यतथ्य पत्ता लगाएर सरकार र संसदलाई प्रतिवेदन दिनका लागि संसदीस्य छानबिन समिति गठन होस्’, उनले भने, ‘ तत्काल शंकास्पद व्यक्तिलाई पक्राउ गरियोस् र पक्राउ परेकालाई कारबाही गरियोस् ।’
उननले पक्राउ परेका मानिसलाई राजनीतिक आडमा नबचाउन समेत सुझाब दिएका छन् ।