काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रस्ताव सर्वसम्मतिबाट टुंगो लगाउन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन्।
मंगलबार साँझ बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेपालको अद्यावधिक नक्सा अनुसार निशान छाप परिवर्तन गर्न संसदमा पेश भएको प्रस्ताव सर्वसम्मतिले पारित गर्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री ओलीले संविधानको धारा ९ मा व्यवस्था गरिएको निसान छाप अनुसूची ३ संशोधनका लागि सबै दलमा राष्ट्रिय सहमति कायम गर्न आग्रह गरेका हुन्।
राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको विषयमा सिंगो राष्ट्र एकताबद्ध रहेको र त्यसैको बलमा यो विषय टुंगोमा पुर्याउनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री अोलीले सबै दलहरुलाई एकतावद्ध भएर प्रस्तुत हुन आग्रह गरे।
संविधान संशोधन गर्नुपर्ने विषयमा दलहरुले माग राख्दै आएपनि तत्काल यो विषयलाई टुंगो लगाउनुपर्ने आवश्यकता भएकाले अन्य विषय समावेश नगर्न उनले आग्रह गरेको प्रधानमन्त्रीलाई उल्लेख गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।
‘सम्झौताको दस्तावेजका रुपमा रहेको संविधानलाई आवश्यकता अनुसार संशोधन गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो विषय तत्काल टुंगो लगाउनका लागि सबै दललाई सहयोग गर्न प्रधानमन्त्रीले आग्रह गर्नुभयो,’ मन्त्री ज्ञवालीले भने।
बैठकमा नेपाली कांग्रेसले प्रस्तावमा सकारात्मक भएपनि पार्टीभित्र थप छलफलको आवश्यकता रहेको बताएपछि सहमति जुट्न सकेन।
पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएर प्रस्तावको विषयमा छलफल गर्ने कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बताए। कूटनीतिक वार्ताको माध्यमबाट विवाद समाधानका लागि प्रधानमन्त्रीलाई सुझाव दिएको उल्लेख गर्दै उनले केन्द्रीय कमिटी बैठकबाट संशोधन प्रस्तावको विषयमा निर्णय हुने बताए।
बैठकमा जनता समाजवादी पार्टी दलका नेताहरुले आफूले उठाउँदै आएका मागहरु पनि समेट्न आग्रह गरेका थिए। कांग्रेसले केन्द्रीय कमिटी बैठक बोलाएर छलफल गर्नेे समय माग गरेपछि प्रधानमन्त्री ओलीको प्रस्तावमा भने कुनै सहमति हुन सकेन।