गोरखा- जिल्लाकाे भीमसेन थापा गाउँपालिका–८ बोर्लाङ स्थित अमला भन्ज्याङबाट अबैध काठ सहित ४ जनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाको भवन निर्माणका लागि भन्दै सदरमुकाम तर्फ लैजादै गरिएको अबैध काठ सहित संलग्न व्यक्तिलाई डिभिजन बन कार्यालय गोरखाले नियन्त्रणमा लिइएको हो ।
इजाजत बिना नै काठ लैजादै गरेको थाहा पाएपछि स्थानीयबासीले अमलाभन्ज्याङ स्थित प्रहरी चौकीलाई जानकारी गराएका थिए । स्थानीयबासी र प्रहरीले काठ बोकेको ट्रयाक्टर सहित उनिहरुलाई नियन्त्रणमा लिएर डिभिजन बन कार्यालयलाई बुझाएको हो ।
पक्राउ पर्नेमा साेहि गाउँपालिका–८ का सवारी धनी सरोज श्रेष्ठ, चालक रमेश कुमाल, सहचालक नवराज परियार र दीपेन्द्र कुमाल रहेको कार्यालयका प्रमुख डिभिजन बन अधिकृत तोयानाथ पौड्यालले जानकारी दिए । प्रहरी कार्यालयको भवन निर्माणका लागि काठ ल्याइएको खुल्न आएपछि भवन निर्माणको जिम्मा पाएको रोयल कन्स्ट्रक्सन प्रालिका हरि विष्टलाई पनि पक्राउ गरिएको छ ।
‘चार जनालाई त्यही दिन पक्राउ गरेर ल्यायौ,’ उनले भने ‘अनुसन्धान गर्दै जाँदा प्रहरीको भवन निर्माणका लागि काठ ल्याएको भन्ने खुलेपछि विष्टलाई हिजो पक्राउ गरेर अनुसन्धान थालेका हौं । ’कैलालीको धनगढी उपमहानगरपालिका–८ बस्दै आएका विष्टले अनुसन्धानको क्रममा प्रहरीको भवन निर्माणका लागि काठ ल्याएको स्वीकार गरेको बताइएको छ ।
उक्त काठ भीमसेनथापा गाउँपालिका–८ महादेवटारबाट ल्याइएको बताइएको छ । यस अघि पनि सो क्षेत्रबाट अबैध रुपमा काठ तस्करी हुने गरेको स्थानीयबासीहरुले गुनासो गर्दै आएका थिए । अवैध काठ ओसारपसार गरिरहेको सूचना स्थानीय समुदायबाट प्राप्त भएपछि कार्यालयको कर्मचारी टोली सो ठाउँमा पुगेर काठ नियन्त्रणमा लिएको हो ।
प्रहरीको भवन निर्माणका लागि भन्दै यस अघि पनि पटक पटक अवैध रुपमा काठ लाने गरेको स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको अनुसन्धान अधिकृत बालकुमार नेपालीले जानकारी दिए ।
ग १ त ३८७३ र ग १ त ६२२८ नम्बरको दुई वटा ट्याक्टरमा राखेर लैजादै गरेको सालको ९ थान (३.७५ क्यू फिट) र बरको ३२७ थान (८८.८८ क्यू फिट) चिरान काठ नियन्त्रणमा लिइएको डिभिजन लिइएको हाे ।