काठमाडौं- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँगको सम्बन्ध अन्त्य गरेकाे घोषणा गरेका छन्।
शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले डब्लूएचओ, चीनको कठपुतली बनेको आरोप लगाउँदै अब ऊसँगको सम्बन्ध आजैदेखि अन्त्य गरिएको घोषणा गरेका हुन्।
‘हामीले डब्ल्यूएचओको व्यापक सुधारका लागि अनुरोध गरेका थियौं तर त्यसो गर्न असफल भयौं,’ ट्रम्पले शुक्रबार ह्वाइट हाउसको प्रेस सम्मेलनमा भने, ‘आज हामी विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध तोड्दै छौं।’
डब्लूएचओका लागि अमेरिकाले खडा गरेको कोषको रकम अब विश्वका अन्य जनस्वास्थ्य क्षेत्रमा लगानी गर्ने बताए। उनले भने, ‘डब्ल्यूएचओ पूर्ण रूपमा चीनको नियन्त्रणमा छ, अमेरिकाले भन्दा चीनले एकदमै कम अनुदान दिने भए पनि।’
यसअघि उनले डब्लूएचओलाई आफ्नो व्यवहार सुधारका लागि एक महिनाको अल्टिमेटम दिएका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग मिलेर डब्लूएचओले कोरोना भाइरसको संक्रमण सुरु हुनेबित्तिकै सूचना नदिएको आरोप लगाएका छन्।
उनले भने, ‘डब्लूएचओ चीनसँग मिलेर कोरोना भाइरससम्बन्धी जानकारीबाट पूरै विश्वलाई वञ्चित गर्याे।’ अहिले विश्वमा कोरोनबाट सबैभन्दा पीडित अमेरिका बनेको छ। त्यहाँ कोरोना संक्रमणका कारण एक लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
सुरुदेखि नै अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले सुरुमै जानकारी नदिएकाले कोरोना विश्वभर फैलिएको आरोप लगाइरहेका छन् भने डब्लूएचओ पनि उसैसँगै मिलेको दाबी गरिरहेका छन्।