काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बिहान साढे ९ बजेका लागि बोलाइएको छ। बैठकमा समग्र बजेट, बजेटमा उल्लेखित एमसिसी तथा संविधान संशोधन लगायतका विषयमा छलफल हुने एक नेताले बताए।
बिहीबार प्रस्तुत बजेटमा एमसिसीबाट आगामी आर्थिक वर्ष २०७७/०७८ मा ५ अर्ब ७२ करोड रूपैयाँ परिचालन गर्ने लक्ष्य राखिएको छ।
बजेटको बाह्य ऋण तथा अनुदानतर्फको स्रोतमा एमसिसीबाट सोझै भुक्तानी हुने गरी उक्त रकम प्राप्त हुने अनुमान गरिएको छ।
शुक्रबार प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र सहमति नबनिसकेको विषयलाई बजेटमा समावेश गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
२०७६ मंसिर-पुषमा बसेको नेकपा स्थायी कमिटी बैठकदेखि एमसिसीको विषय नेकपामा पेचिलो बन्दै आएको छ। सोही वर्ष माघमा बसेको केन्द्रीय कमिटी बैठकले संशोधनसहित एमसिसी पारित गर्न सुझाब दिएको थियो।
तर, विवादकै बीच एमसिसी अन्तर्गतको परियोजना अघि बढाउने विषय नीति तथा कार्यक्रममा समावेश गरिएको थियो भने अहिले बजेटमा अनुदान रकममा त्यसलाई समावेश गरिएको छ।