गोरखा- संघीय सरकारको नीति तथा कार्यक्रमबाट गोरखा जिल्लाको त्रिशुली देखि रुइला भञ्ज्याङ क्षेत्रसम्म संघीय सरकारले विभिन्न योजनामा बजेट विनियोजन गरेको छ ।
गोरखा जिल्लाबाट निर्वाचित प्रतिनिधिसभाका साँसद हरिराज अधिकारीले साना योजना भन्दा पनि रणनीतिक महत्वका योजनामा बजेट दिन ताकेता गर्दे आएका थिए ।
पक्की पुल निर्माण र मुख्य नाका जोड्ने बाटो निर्माणमा अधिकारीले पहलकदमी लिदै आएका छन् । केन्द्र सरकारले पारित गरेको नीति तथा कार्यक्रमबाट जिल्लाकोे पर्यटन र पुर्वाधार विकासका विभिन्न योजनामा बजेट प्रदान गरेकोे छ ।
पर्यटन पुर्वाधार आरुघाट, कालताल क्षेत्र पर्यटन पुर्वाधार चुमनुब्री, गोरखनाथ गुफा, गोरखा नगरपालिका, रमाईलो डाँडा पार्क निर्माण आरुघाट, बौद्ध गुम्बा निर्माण गण्डकी, गोरखा देखि काठमाण्डौ सम्म एकिकरण पर्यटकीय पैदल मार्ग, धाम्सलिङ्गगढी संरक्षण आरुघाटका लागि बजेट व्यवस्था गरेको छ । यसले गोरखाको पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने यस क्षेत्रमा काम गर्दै आएका अगुवाहरुले बताएका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने चुमनुब्री, धार्चे, आरुघाट, भीमसेन थापा, शहिदलखन, गण्डकी , गोरखा नगरपालिका सबै क्षेत्रका महत्वपूर्ण रणनीतिक क्षेत्रमा बजेट व्यवस्थापन भएको साँसद अधिकारीको सचिवालयले जानकारी दिएको छ ।
यसैगरी बेनिघाट आरुघाट हुँदै रुइला नाका चार करोड, बसेरी मान्बु काशीगाउँ, दोभान सडक चार करोड, यमगाउँ खानी गाउँ सडक चारकरोड बजेट विनियोजन भएको छ ।
यस अघि क्षेत्र नं. १ मा पर्ने त्रिशुली नदि माथि गोरखा र धादिङ जोड्ने धावादीघाटमा पक्की पुल, शहिदलखनको करनटार मुग्लिन जोड्ने पक्की पुल निर्माण प्रक्रिया अघि बढीसकेको छ ।
बुढीगण्डकी आयोजना निर्माणमा संकल्प प्रस्ताव पारित भइसकेर वितरणमा बाँकी रहेका घरगोठ, बुट्यानहरु मुअब्जाको ह्रास कट्टा नगरी विस्तापितहरुलाई छिटो वितरण गर्न यस क्षेत्रका साँसदले माग गर्दै आएका थिए ।
गोरखा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत चोरकाटे भालुस्वाँरा भच्चेक सडक चार करोड, पालुङटार विमानस्थल ५५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
पर्यटन पुर्वाधार, जल नियन्त्रण, सिंचाई लगायतका क्षेत्रमा समेत बजेट विनियोजन भएको छ । जिल्ला भित्र रहेका साँसदहरुको कोषबाट विनियोजित बजेटबाट विकास निर्माणका कामहरु समेत भईरहेका छन् ।
गोरखा जिल्लामा यस अघि समानुपातिक रुपमा न्यून बजेट आउने गरेपनि पछिल्लो चरणमा सांसदहरुको सक्रियता, केन्द्र , प्रदेश र स्थानीय सरकारको नीति तथा कार्यक्रमका कारण विकासले गति लिन थालेको छ ।
बेनिघाट रुइला सडक खण्ड, राष्ट्रिय गौरवको बुढी गण्डकी जलविद्युत आयोजना, त्रिशुली नदि माथिको पुल निर्माणका काम, सिउरेनीटार देखि रामशाहघाटसम्मको बैकल्पिक सडक मार्ग निर्माण का लागि निर्वाचन क्षेत्र नं. १ का साँसद हरिराज अधिकारीको पहलकदमीबाट अगाडि बढेको छ ।