काठमाडौं- दैनिक आम्दानीबाट सरकार राज्य सञ्चालनको खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ। राज्य सञ्चालनका लागि मासिक ४० अर्ब रुपैयाँ आवश्यक पर्नेमा जेठको आम्दानी र खर्चको हिसाब गर्दा खर्च धान्न नसक्ने अवस्था देखिएको हो।
कोभिड–१९ र लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भएपछि राजस्व संकलन प्रभावित हुँदा यो स्थिति आएको खबर आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन्।
राजस्व संकलन प्रभावित भएपछि कर्मचारीको तलबलगायतका चालु खर्चसमेत धान्न नसक्ने अवस्थामा पुगेको अर्थमन्त्री डा.युवराज खतिवडाले समेत स्वीकार गरिसकेका छन्।
सरकार चलाउन अहिले मासिक ४० अर्ब रुपैयाँ राजस्व संकलन गर्नुपर्ने अवस्था छ । अहिले भन्सार विभागबाट मासिक १५ अर्ब रुपैयाँ मात्र राजस्व संकलन भइरहेको छ । यता आन्तरिक राजस्व कार्यालयबाट केही अर्ब मात्र राजस्व संकलन भइरहेको छ।
यसले गर्दा चालू खर्च धान्न राजस्वबाट मात्र सरकार असफल हुँदै गएको पुष्टि हुन्छ । यस्तो आर्थिक समस्या देखिएपछि सरकारले केही कोषको रकम चलाउने भएको छ।
अर्थमन्त्री खतिवडाले प्रतिनिधिसभामा जानकारी दिएअनुसार सरकारी खर्च जुटाउन सरकारले रोयल्टी रकम तान्ने तयारी गरेको छ । यी रकम कानुनअनुसार नै राजस्वमा दाखिला गर्न सरकारले कोषहरूलाई आग्रह गरेको छ।