गाेरखा- अजिरकोट गाउँपालिकाले शुक्रवार आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
कोभिड १९ को संक्रमणले विश्वभर पारेको प्रभावबाट रोजगारी गुमाएर गाउँ फर्कनेहरुलाई विशेष ध्यान दिएर कार्यक्रम ल्याएकाे गाउपालिकाले जनाएकाे छ ।
‘फर्क युवा अभियान’ संचालन गर्ने, विदेशबाट फर्किएका तथा रोजगारीको खोजीमा रहेका जनशक्तिलाई गाँउपालिकाभित्र उपलब्ध हुने निर्माण सेवा, ब्यवसाय, उद्योग, कृषि लगायतका क्षेत्रमा रोजगारदातासंग समन्वय गरी रोजगारी प्रदान गर्न सहजीकरण गरिने कार्यक्रममा उल्लेख गरिएको छ ।
सामाजिक बिकास तर्फ कोभिड १९ को नियन्त्रण र रोकथामलाई गाउँपालिकाले विषेश प्राथमिकता दिएको छ ।
ब्यवस्थित क्वारेन्टिन निर्माण, वडास्तरका समुह, संघ संस्थासँगको सहकार्यमा चेतनामुलक कार्यक्रम संञ्चालन, ‘मिली सवै हटाउ कोभिड-१९ को विपत्ती, स्वस्थ नागरिक अजिरकोटको सम्पत्ती’ नाराका साथ स्वास्थ्य सेवालाई पहिलो प्राथमिकता दिइएको छ ।
गाउँपालिका र वडाबाट सेवा प्रवाह गर्दा दुरी कायम गर्ने, सुरक्षाका उपायमा ध्यान दिन सेवाग्राहीलाई अनुरोध गर्ने, कोरोनाबाट मानसिक असर पुगेकाहरुलाई मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने, पालिका भित्रका स्वास्थ्य चौकीको गुणस्तरवृद्धि गर्ने नीति अजिरकोटले लिएको छ ।
यो वर्षको नीति तथा कार्यक्रम गत वर्षको भन्दा भिन्न रहेको बताउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र ज्ञवालीले भने ‘स्वास्थ्य र कृषि क्षेत्रलाई विषेश प्राथमिकता दिएका छौँ ।’
आर्थिक बिकास तर्फ अजिरकोट कृषि प्रर्वद्धन वर्षको रुपमा आउँदो वर्षलाई अघि बढाईने बताइएको छ ।
एक वडा एक कृषि बस्तु, एक घर एक करेसाबारी, रैथाने बाली जोगाउन बिउ बैंक, बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन, अध्यक्ष साना किसान कार्यक्रम जस्ता विषय नीति तथा कार्यक्रममा गाउँपालिकाले सार्वजनीक गरेको छ ।
अजिरकोट-नागेपोखरी-निम्चेपोखरी-अजिरकोट दौड प्रतियोगिता संचालन, होमस्टेको प्रर्वद्धन लगायतका पक्ष समेटिएका छन् ।
विद्यालय बन्द रहेको सन्दर्भमा बैकल्पिक विधिबाट पढाई सुरु गर्ने, स्तरीय एम्बुलेन्स सेवा सञ्चालन गर्ने, उपाध्यक्ष नर्सिङ कार्यक्रम अन्र्तगत खोप सुरक्षित मातृत्व, पोषण, प्रजनन लगायतका क्षेत्रमा विषेश कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
शैक्षिक सुधारका लागि ‘गाउँपालिका अध्यक्षसँग साक्षत्कार कार्यक्रम’ अजिरकोट जेहेन्दार छात्रावृत्ती कार्यक्रम, छोरी भए पुगिसरी कार्यक्रम अन्र्तगत दुई छोरी भएर स्थायी बन्ध्याकरण गरेमा दुबै छोरीलाई कक्षा १२ सम्म निशुल्क शिक्षा दिने घोषणा गाउँपालिकाले गरेको छ ।
अजिरकोट सांस्कृतीक संग्राहालय निर्माण, उज्यालो अजिरकोट कार्यक्रम, विद्यालय, वडा स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाउँदै लैजाने योजना बनाइएको छ ।
आउँदो वर्ष गाउँपालिकाले आफ्नै कार्यालयबाट सेवा दिने लक्ष्य लिएको छ । इभिजेल परियोजना, गाउँपालिकाको गतिविधी समेटिएको त्रैमासिक ‘अजिरकोट आवाज’ प्रकाशन जस्ता कार्यक्रमलाई गाउँपालिकाले समेटेको छ ।