भच्चेक (गोरखा)- अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेकस्थित ‘पर्यन्ट मेडिकल’ले म्याद गुज्रिएको औषधि बिक्री वितरण गरिरहेको गोरखा सन्देशले फेला पारेको छ।
भच्चेक स्वास्थ्य चौकी प्रमुख समेत रहेका अजिरकाेट-२, खरिबाेटका ठाकुर भट्टले आफ्नै निजी मेडिकलमा म्याद गुज्रिएको औषधि बिक्री वितरण गरिएको फेला परेको हो ।
बुधवार बिहान एघार बजे वडा न ५ मुच्चाेकबाट हात दुख्ने समस्या भएर आएका खिलबहादुर परियारलाई उनले Aceclofenac नामक औषधि म्याद गुज्रिसकेकाले (पाँच महिना छीसम्म) पनि बिक्री वितरण गरेका हुन् ।
म्याद गुज्रिएको औषधि बिक्री वितरण भइरहेको थाहा पाएर औषधि सहित स-प्रमाण गएको यो सम्वाददातालाई सञ्चालक ठाकुरको श्रीमतीले औषधि खोसेर फिर्ता गर्न अटेर गरिन् ।
आफूसङै रहेको परिचयपत्र देखाउँदा उनले उल्टै ‘हामी मिल्नपर्छ’ भनेर आग्रह गरिन् । उपचारमा आउने बिरामीहरूले यस मेडिकलबाट विगतमा पनि यस्तै किसिमको अनेकौँ लापरबाही भएको बताए । आफैँ स्वास्थ्य प्रमुख रहेका ठाकुर कार्यालय समयमा पनि स्वास्थ्य चौकीमा नवसेरसँगै जोडिएको आफ्नै मेडिकलबाट औषधि बिक्री/वितरण गरिरहेका छन् ।
सरकारी कर्मचारी भएर स्वास्थ्य चौकीसङै जोडिएको घरमा आफ्नै निजी मेडिकल खोल्ने काम अनधिकृत रहेको सम्बन्ध अधिकारीहरू बत्ताउँछन् । अझ, स्वास्थ्य चौकीबाट सेवा लिन दूर-दराजबाट आएकाहरू स्वास्थ्य चौकीकै कर्मचारीलाई कार्यालय समयमा पनि आफ्नै मेडिकलमा देखेपछि बाध्य भएर सरकारले सित्तैमा दिने औषधि पनि किनेर खान बाध्य भएका छन् ।
स्वास्थ्य चौकीबाट ४० प्रकारको औषधिहरू निःशुल्क पाइने भए पनि कर्मचारीको लापरबाही र गैर-जिम्मेवारिले जनता स्वास्थ्य सेवा पाउने आफ्नो नैसर्गिक अधिकारबाट समेत वञ्चित छन् । अझ, कतिपय समयमा स्वास्थ्य सम्बन्धी कुनै ज्ञान नभएको आफ्नै श्रीमतीलाई सञ्चालक ठाकुरले मेडिकलको जिम्मा लाउने गरेको खुल्न आएको छ ।
सम्बन्धित निकायले यस्ता गैर जिम्मेवार अनि अनैतिक काम गर्ने स्वास्थ्यकर्मीलाई कारबाहीको दायरामा ल्याउला ? कि सधैँ झैँ आँखा चिम्लिएर बस्ला? प्रतीक्षा गरौँ ।
Aceclofenac ले के काम गर्छ
Aceclofenac नामक औषधि “NSAID” भन्ने समूहमा पर्छ । जसको मुख्य काम हड्डी सम्बन्धी बिरामीलाई दुखाइ कम गर्न प्रयोग हुन्छ ।
के भन्छन् मेडिकल सञ्चालक भट्ट
मेडिकल सञ्चालक भट्ट भने प्राविधिक कारणवश यस्तो हुन आएको दाबी गर्छन् । ‘अहिले कोरोनाको समय भएकाले मेडिकलमा समय दिन भ्याएको छैन । त्यसैले पनि यस्तो हुन गयो’ उनले भने ‘यसमा प्राविधिक मिस्टेक भएको हो । यसलाई अन्यथा नलिनु होला ।’
उनले बिक्री गरिसकेको औषधि समेत सम्वाददातासँग खोसेर आफ्नो साथ राखे । उनले पालिका लाइभसंग भनेका छन् ‘समाचार प्रकाशन नगर्ने सर्तमा म तपाईँलाई यो औषधि उपलब्ध गराउँछु ।’
अजिरकाेट गाउँपालिकाका जनस्वास्थ्य प्रमुख सुरेश दवाडी भने यो विषयमा बोल्न चाहेँ । उनले भनेका छन् ‘यो विषयमा गाउँपालिका अध्यक्ष तथा स्वास्थ्य चौकीका संरक्षक, स्वास्थ्य चौकी अध्यक्ष तथा वडा न ३ का वडा अध्यक्ष र मेडिकल सञ्चालक भट्टसँग बसेर छलफल गरौँला । अहिले म फिल्डमा छु’