गोरखा- जिल्लाकाे शहिद लखन गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि कुल ५२ करोड ४७ लाख ४० हजार ४ सय ५७ रुपैयाको बजेट बुधबार सार्वजनिक गरेको छ ।
गाउँपालिकाले सार्वजनिक गरेको बजेट अन्र्तगत चालु खर्च तर्फ २१ करोड २२ लाख २५ हजार रुपैया बिनियोजन गरेको छ भने पुँजीगत तर्फ ३१ करोड २५ लाख १५ हजार ४ सय ५७ रुपैया रकम बिनियोजन भएको गाउँपालिकाले बताएको छ ।
गाउँपालिकाले भौतिक पूर्वाधारको बिकास, शिक्षा, स्वास्थ्य, देखि लिएर कोरोना भाइरस रोकथाम र नियन्त्रण र न्युनिकरणका लागि बजेटमा प्राथामिकता दिएको छ ।
कोरोना भाइरसको रोकथाम र नियन्त्रणका गाउँपालिकाले रु १ करोड २० लाख रुपैया बजेट बिनियोजन गरेको छ ।
त्यस्तै गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि १ करोड २० लाख, गाउँपालिकामा बहुउद्देस्यिय सभाहल निर्माणका लागि ७५ लाख, कृषि बजार पूर्वाधारका लागि २५ लाख रुपैया बजेट बिनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले घोषणा गरिन ।
गाउँपालिकाले आगामी आर्थिक बर्षमा नेपालका प्रथम शहिद लखन थापामगरको किल्लाको पूर्वाधार निर्माणका जग्गा व्यवस्थापन गर्न ६० लाख बिनियोजन गरेको छ ।
त्यस्तै पालिका भित्रका सवै वडाहरुमा मुख्य सडक स्तरोन्नतीका लागि १ करोड २८ लाख २८ हजार बिनियोजना भएको छ भने नाम्जुङ धैरुङ, तिनमाने मनकामना सडकखण्डको स्तरोन्नतीका लागि १५ लाख रकम बिनियोजन गरिएको बजेटमा उल्लेख छ ।
गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण रोजगारी गुमाएकाहरुलाई कृषि क्षेत्र मार्फत गाउँमै रोजगारीको सिर्जना गर्ने लक्ष्य सहित कृषि र पशु उत्पादनमा गाउँपालिकालाई आत्मा निर्भर बनाउन बजेटमा प्राथामिकता दिएको छ ।
त्यसका लागि कुल १ करोड ४० लाख रकम छुट्याएको छ । त्यस्तै गाउँपालिकाको शिक्षा क्षेत्रको बिकासका लागी १ करोड ४० लाख रुपैया आगामी आर्थिक बर्षका लागि बिनियोजन गरिएको छ ।