पालुङ्टार– बिहीबार मध्यदिनमा पालुङटार नगरपालिकाका मेयर इं दीपकबाबु कँडेललाई सम्बोधन गर्दै वडा न ४ का केही स्थानीयले एक योजनामा रकम निकाल्न ‘किर्ते हस्ताक्षर’ भयो मेयर साप भन्दै पत्र लेखे ।
नगरपालिकाको वडा न ४ को बाहपिर्के टोल सुधार क्षेत्रमा खानेपानी सरसफाइ, बिजुली बत्ती मर्मत लगायतका शीर्षकमा उपभोक्ता समिति मार्फत काम गर्ने गरी नगरपालिकाले १ लाख ५६ हजार हाराहारी बजेट उपलब्ध गरेको थियो ।
त्यही रकम निकाल्न वडा न ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटको राेवहरमा उपभोक्ता समितिले ‘किर्ते हस्ताक्षर’ भएको भन्दै छानबिन गर्न मेयरलाई उनीहरूले पत्र लेखेका हुन् । पत्रमा १९ जनामध्ये १५ जनाको हस्ताक्षर किर्ते भएको भन्दै उनीहरूले मेयरलाई भेट्न गए ।
अझ उनीहरूले कतिसम्म गरेका रहेछन् भने उपभोक्ता समितिमा रहेका जनक बाबु देवकोटा हाल अमेरिकामा छन् । समितिले अमेरिकामा भएका देवकोटाको समेत हस्ताक्षर गरेपछि यो कुरा बाहिर आएको हो ।
नगरपालिकाले उपलब्ध गराएको रकमले उपभोक्ता समितिले कतै काम नै नगरेको स्थानीयले आरोप लगाएका छन् ।
पालिका लाइभको सम्पर्कमा आएका ती स्थानीयले भने ‘उहाँहरूले बजेट निकाल्न कतिसम्म गरे भने अमेरिकामा भएका देवकोटा सरकाे समेत हस्ताक्षर गरे। उहाँ त लकडाउन भन्दा केही समय अगिदेखि नै अमेरिकामा हुनुहुन्छ। ‘
वडाध्यक्षको रोवरमा ‘किर्ते हस्ताक्षर’
अमेरिकामा भएका देवकोटाको हस्ताक्षर वडा न ४ का वडाध्यक्ष रानाभाटको रोवरमा नै भएको ती स्थानीयले बताए । ‘किर्ते हस्ताक्षर’ बाहिर सार्वजनिक भएपछि वडाध्यक्ष रानाभाट र उपभोक्ता समितिका अध्यक्ष ऋषिराम देवकोटाको दबाबमा करिब १४ महिनादेखि प्रभु बैंक पालुङ्टार शाखामा सुरक्षा गार्डमा कार्यरत रामबहादुर रानाभाटले रोजगारी नै गुमाए ।
‘उनीहरूले रकम निकाल्न बैंकमा आएपछि मेलै के भएको रहेछ भनेर बुझे’ रोजगार गुमाएका उनले भने ‘ बुझ्दै जाँदा यस्तो पो भएको रहेछ । मैले यो त गलत भयो नि भनेर भन्दा मलाइ उहाँहरूको दबाबमा रोजगारीबाट नै निकालिदिनु भयो ।’
तर, प्रभु बैंकका शाखा प्रमुख सूर्य न्यौपानेले भने रोजगार गुमाएका रानाभाटलाई अनुशानहिन भएकाले कारबाही गरिएको दाबी गर्छन् । भन्छन् ‘बैंककाे नियमभन्दा बाहिर गएर र उहाँले केही काम गर्नुभएको रहेछ। थप बुझ्न बैंकमा आउनु होला ।’
रोजगार गुमाएका रानाभाट भने ‘कागजपत्र सार्वजनिक भएको आरोपमा बैंकले मलाइ कारबाही गरेको पछि मात्र थाहा पाए । अहिले बुझ्दै जाँदा उहाँहरूले पो मलाइ हटाउन दबाब दिनुभएको रहेछ । यहाँ भ्रष्ट्राचार भयो । गलत भयो भनेर भन्दा मलाइ यस्तो उपहार दिनुभयो ।’
यस विषयमा नगरपालिकाका मेयर कँडेलसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।