काठमाडौं- नेपाल वायुसेवा निगमले चीनबाट अनुदान पाएका तथा किनेर ल्याएका जहाज बेच्ने तयारी गरेको छ ।
पौने सात अर्ब लगानी भएका जहाज चलाउन नसक्ने भनेर निगम बोर्डले निजी क्षेत्रलाई बेच्ने निर्णय गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा केदार दाहालले लेखेका छन्।
नेपालका दुर्गम क्षेत्रका विपन्न जनता महँगो भाडा तिरेर निजी एयरलाइन्समा यात्रा गर्न बाध्य छन् । निजी एयरलाइन्सले नाफा कमाउन सक्ने रुटमा निगमले व्यावसायिक सेवा दिन भनेर चीनबाट जहाज अनुदानमा तथा खरिद गरेर ल्याएको हो ।
निगमले ५६ सिट क्षमताका दुई र १९ सिट क्षमताका चार जहाज ल्याएको थियो । दुई अर्ब ९४ करोड अनुदान र तीन अर्ब ७२ करोड ऋणमा ती जहाज ल्याइएका थिए । चिनियाँ एक्जिम बैंकमा ब्याज बढेकोबढ्यै छ, तर यता जहाज उड्दैनउडी ग्राउन्डेड छन् ।
सुरुमा ०७१ मा एउटा एमए ६० र एउटा वाई १२ ई जहाज अनुदानमा ल्याइएको थियो । ०७३ मा निगमले एउटा एमए ६० र एउटा वाई १२ ई जहाज खरिद गरेर ल्याएको थियो । अर्को वर्ष ०७४ मा दुईवटा वाई १२ ई जहाज ल्याइएको थियो ।
दुई जहाजको मूल्यबराबर दुई अर्ब ९४ करोड अनुदान प्राप्त भएको थियो । बाँकी तीन अर्ब ७२ करोड रुपैयाँ भने १.५ प्रतिशत ब्याजमा चीनकै एक्जिम बैंकबाट नेपाल सरकारले ऋण लिएको थियो । जसको ऋण तिर्न बाँकी छ ।
अनुदान तथा ऋण ६ अर्ब ६७ करोड खर्च गरेर जोडिएका ६ जहाजमध्ये अहिलेसम्म एउटा एमए ६० र एउटा वाई १२ ई ले मात्रै उडान गरेका छन् । ती दुई जहाज पनि केही समय मात्र उडाइएको थियो । चार जहाजले त हालसम्म उडान नै गरेका छैनन् । तर, उड्दै नउडेका र उडेका सबै जहाज बेच्ने तयारी भएको छ।