वर्तमान परिप्रेक्षमा सबैभन्दा धेरै आलोचनाको शिकार कोहि भएको छ भने त्यो प्रचण्ड हो। सामाजिक संजाल, रेडियो टेलिभिजन जतासुकै प्रचण्ड कै बिरोध आलोचना हुन्छ किन ?
त्यसको एउटै सजिलो उत्तर: प्रचण्ड प्रती अत्यन्तै धेरै अपेक्षा थियो । आशा गरिएको थियो । जुन प्राप्त नहुदाँ आक्रोशमा परिणत भयाे।
२०७२ सालको संविधानले समाजवाद उन्मुख राज्यको परिकल्पना गरेको छ। मैले बुझेको समाजवाद मूलत:मानवीय र नैतिक दृष्टिकोण हो तपाईं हामीलाई समान व्यवहार गर्ने दृष्टिकोण हो।
सिंगो समाजको समुन्नति देखिने ब्यबस्था हो । तर, विषय पूरै भाँडिएको छ दलाल नोकरशाही तन्त्र हावी भएको छ । कस्तो समाजवाद ल्याउन खोजिदैछ कम्रेड ?
अब प्रश्न आउछ,
वर्तमान सरकारले कामै गरेन त? वा यसो भनौँ जे–जति काम गर्यो ती सबै नराम्रो थिए त ? त्यसो पनि होइन वास्तवमा यो सामान्य अवस्थामा बनेको सरकार थिएन ।
नयाँ संविधानले परिकल्पना गरेको मान्यता र लक्ष्य प्राप्त गर्न शून्यबाट काम थाल्नुपर्ने सरकार थियो। यो सरकारको अधिकांश समय नयाँ ऐन–कानुन निर्माण गर्नमै व्यतित भयो।
ऐनकानुनहरु पनि अत्यन्तै बिबादास्पद आउन थाले,सरकारले जनतालाई सम्झाउन पूर्णतया असफल भयो र त्यसमाथि निर्वाचनका वेला देखाएका ठुल्ठूला सपना र प्रधानमन्त्रीको तारा मात्र होइन,जुन पनि झारिदिन्छु’ भन्ने खालका हावादारी अभिव्यक्तिले जनतामा निराशा ह्वात्तै बढेको हो।
प्रचण्ड कम्रेड निदाउदा,
संघीयलोकतान्त्रिक गणतन्त्रको लागि लड्ने माइला लामा र थारु पहिचान, हक र अधिकारको लागि लड्ने रेशम चौधरी जेलमा तर आफ्नो स्वानी हत्या गर्ने हत्यारा रन्जन कोइरालाको जन्म कैदलाई घटाएर जेल मुक्त भैइसके।
न्यायालय पुरापुर भ्रष्ट र नैतिक पतन भएकाहरुको हातमा छ। न्यायाधीशले कानुनको बारम्बार बलात्कार गरिरहेका छन। राजनीतिक शक्तिमा न्यायाधीश बनेकाबाट के न्यायको आश गर्नु। कानुन बनाउने र संरक्षणहरु बलात्कारी, हत्यारा, लुटेरा, भ्रष्टाचारि अपराधी छन के आशा गर्ने?
प्रचण्ड कम्रेड,
माओवादी आन्दोलन पूरा गर्न र माओवादीहरुलाई एक बनाउन लागि पर्नुपर्ने तर आज तपाई माओवादी आन्दोलनलाई अलपत्र परेर छोडेर हिड्नु निकै ठुलो गल्ती थियो, र त त्यसैले तपाई सबैभन्दा आलोचित पात्र हुनुहुन्छ।
अब ब्युझिनुस् कम्रेड।
ए प्रचण्ड कम्रेड,
हिजोको जनयुद्ध र जनआन्दोलनको औचित्य यहि संसदिय ब्यबस्थालाई निरंतरता दिनु पक्कै थिएनन । जनतालाइ अधिकार सम्पन्न बनाउने जनताको प्रत्यक्ष लोकतान्त्रिक सहभागीतामा बिकास र समृद्धि हासिल गर्ने नै थियो ।
हिजो जनयुद्ध/आन्दोलनबाट स्थापित शक्तिहरु अहिलेको एजेन्डा बिहिन छ्न। भएका केहि एजेन्डा पनि कपि पेष्ट छ्न्। परिवर्तनले ब्यक्ति हैन समाज बदलिँको हुनुपर्ने, गरीव माथि उठेको हुनुपर्ने, काम गर्ने शैली परिवर्तन भएको हुनुपर्ने खोइ त ब्यवहारिक परिवर्तन अनि पारदर्शिता ?
प्रचण्ड कम्रेड,
अब यस्तो विलासी गणतन्त्र र संघियताको रक्षा गर्न अब कोहि पनि देशभक्त नेपाली बलिदान गर्न तयार छैनन।
जनतालाई उत्तेजित होइन अब शान्त भएर अभिव्यक्ति दिनुहोस् हिजो आफैले कैयौं सपना देखाएर बन्दुक बोकाएका अयोग्य जनसेनाका माग सम्बोधन नहुदा प्रश्नहरु धेरै उब्जिएका छ्न।
प्रचण्ड कम्रेड बृहत शान्ति सम्झौताको हस्ताक्षर कर्ता तपाई एक हो। अब संबिधान र राजनीति दलहरुको आफ्नै घोषणापत्रले कोरेको प्रष्ट मार्गचित्र अनुरुप, लामो समय विभेद र असमानता बेहोरेको नेपाली समाजको दिर्घकालिन हितको लागि रुपान्तरण सहितको छ्लाङ मार्नुपर्छ ।
अन्त्यमा,
प्रचण्ड कम्रेड
यो देशको मुहार फेर्ने ईच्छाशक्ति तपाईंमा छ भने, दोस्रो पुस्ताकालाई जिम्मेवारी सुम्पिएर तपाईंहरू ईज्जतदार सल्लाहकारको भुमिकामा बस्नुहोस।
एउटा भिजनरी नेतृत्व यो देशले आवश्यकता महसुस गरेको छ।जीवनको उत्तरार्द्धमा देश र जनताको लागि केही असल काम गर्दा जीवन परान्त संझना रहन्छ नै सोच्ने बेला आएको छ।
प्रचण्ड कम्रेड,
वर्तमान सरकार अनि नेपाल कम्युनिस्ट पार्टीको असफलताले प्रचण्ड वा केपि ओली मात्रै मात्र दण्डित हुने भए कुनै चिन्ता थिएन,यसबाट त नेकपाको आशा लाग्दा युवाहरूको भबिस्य खतरामा छ।
त्यसभन्दा पनि बढी यति ठूलो बलिदानबाट आएको यो राजनीतिक व्यवस्था संघीयलोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने खतरामा पर्ने त होईन भन्ने उत्तिकै चिन्ता छ।
अझ सबैभन्दा ठूलो त मुलुककै भविष्य धरापमा पर्ने खतरामा त छैन ? त्यसैले प्रचण्ड कम्रेड ब्युझिनुस अब निदाएर बस्न छुट छैन ।