काठमाडौं- नेपाल टेलिमको पोस्टपेड सिमकार्ड बाहकलाई केही दिनदेखि सन्देश आइरहेको छ, ‘अब प्रत्येक रिचार्जमा २ प्रतिशत ‘स्वामित्व शुल्क लाग्ने छ ।’
अर्थात् अब पोष्टपेड मोबाइल रिचार्ज गर्दा कर लाग्छ । यस्तो कर रिचार्ज गरेकै बेलामा काटिनेछ ।
नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार यस्तो कर यसअघि प्रिपेड सिमबाहकसँग मात्र लिइन्थ्यो । तर यो वर्ष बजेटमा सरकारले सबै खालका मोबाइल सेवाको सिम तथा रिचार्जमा २ प्रतिशत स्वामित्व शुल्क लिने घोषणा गरेको थियो ।
यसअनुसार आर्थिक ऐनले साउन १ गतेदेखि पोष्टपेडमा स्वामित्व कर लिने व्यवस्था गरेको थियो । टेलिकम कम्पनीले पोष्टपेडको रिचार्जमा स्वामित्व शुल्क लिन थालिसकेका छन् । तर ग्राहकहरुलाई भने अहिले जानकारी दिइरहेका छन् ।
२९ प्रतिशत राजस्व सिधै सरकारी खातामा
रिजार्चमा २ प्रतिशत मात्र होइन, सरकारले प्रत्येक रिचार्जमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क पनि लिन्छ । जुन, रिचार्जको बेलैमा नकाटिए पनि दूरसञ्चार सेवा प्रदायकले कलमा गणना गरेर काटेर सरकारलाई बुझाउँछन् ।
त्यसमाथि सरकारले १३ प्रतिशत भ्याट असुल्छ । त्यस्तो कर पनि प्रत्यक्ष रुपमा रिचार्जमा काटिएको हुँदैन ।
नेपाल टेलिकमले गरेको एक अध्ययनअनुसार अहिले प्रत्येक रिचार्जमा करिब २९ प्रतिशत रकम सीधै सरकारी खातामा जान्छ । त्यसमा टेलिकम कम्पनीले गर्ने मुनाफाको हिसाब हुँदैन ।
टेलिकम कम्पनीले बुझाउने आयकरसहित ग्रामीण दूरसञ्चार सेवा शुल्क, रोयल्टी लगायतका अप्रत्यक्ष मार पनि उपभोक्ताकै थाप्लोमा पर्ने गरेको छ ।