गाेरखा- विगत ४२ वर्ष देखि प्रयोगविहिन पालुङटार विमानस्थल स्तरोन्नति गरेर सन्चालन गर्ने तयारी गरिएको छ ।
करिव १ सय ८५ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थल स्तरोन्नति गरेर सन्चालन गर्ने तयारी गरिएको हाे ।
२०१६ सालमा निर्माण भएर ०१८ सालदेखि उडान सेवा सुरु भएपनि वर्षौंदेखि खेलमैदान, गाईवस्तु चराउने गौचरन, निर्माण सामाग्री थुपार्ने ठाउँ बन्दै आएको विमानस्थल ०३६ सालदेखि अहिलेसम्म बन्द अवस्थामा छ।
सरकारले स्तरोन्नतिका लागि ३ करोड १७ लाख ५० हजार रकम छुट्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो ।
‘विमानस्थलको धावनमार्ग स्तरोन्नति कार्यक्रम अन्तरगत उक्त रकम छुट्याइएको हो,’ प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले भने, ‘काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिसँग असार ३१ गते ठेक्का सम्झौता भइसक्यो ।’ सम्झौताअनुसार आगामी असार मसान्तसम्म काम सक्नुपर्नेछ ।
‘रनवेलाई सफा गरी ग्राभेल गरेर कम्प्याक्ट गर्छौं, एयरपोर्ट वरपर चेन लिंक फेन्स (एयरपोर्ट क्षेत्रमा लगाइने तारबार) लगाउँछौ,’ उनले भने । तारबार लगाएसँगै पशुचौपाया छिर्न नसक्ने उनले बताए ।
बिमानस्थलको अतिक्रमित जग्गामा डोजर लगाइने उनले जानकारी दिए । ‘यो वहुवर्षीय योजना हो, अहिलेको बजेटले छोटो दुरीका साना जहाज उडान गर्न मिल्ने गरी स्तरोन्नती गर्छौं, पछि रकम थप्दै स्तरोन्नति हुँदै जानेछ,’ उनले भने ।
मस्र्याङ्दी नदी किनारमा तनहुँ तर्फको तुरतुरे बजार र गोरखा तर्फ नयाँबजार, पालुङटार, ठाँटीपोखरी क्षेत्रमा बजारीकरण बढ्दै गएपछि बढेको सवारी चापका कारण हवाईमैदान सवारीसाधान पार्किङ गर्ने थलोका रुपमा पनि प्रयोग हुन थालेको छ ।
२०१७ सालतिर गोरखा, तनहुँ, लमजुङका विभिन्न क्षेत्रमा खाद्यन्न अभाव हुँदा जहाज मार्फत् खाद्यन्न ढुवानी गरिएको र त्यसपछि ०३४ सालसम्म यि ३ जिल्लामा निर्माण भएका खानेपानी योजनाका लागि आवश्यक पर्ने फलामे पाईपहरु पनि ओसारपोसार गरिएको स्थानीय बुढापाकाहरु बताउँछन्।
डेढ किलोमिटर लम्वाई र ५ सय मिटर चौडाई क्षेत्रफलमा ६० वर्षअघि निर्माण गरिएको सो मैदान पृथ्वीराजमार्गमा यातायात सेवा सञ्चालनमा आएसँगै गोरखा, तनहुँ र लमजुङ सदरमुकाममा मोटर पुगेपछि उडान स्थगित भएको हाे ।
विमानस्थलको स्तर उन्नतिका लागि आर्थिक वर्ष २०७६/७७ मा नेपाल सरकारले ८८ लाख ४९ हजार ५५८ रुपैयाँ विनियोजन गरेको थियाे ।
तीन सय १० रोपनी बढि जग्गा, कति अतिक्रमण भयाे कसैलाइ थाहा छैन्
जिल्लाकै एउटा मात्रै हवाई मैदान पालुङटार हवाई मैदानको तीन सय १० रोपनी, तीन आना दुई पैसा एक दाम जग्गा अहिले साँघुरिएको छ।
साबिकको गाईखुर गाविसमा पर्ने कित्ता नम्बर ७२० को ९७ रोपनी ११ आना, पालुङटार ९ को किनं १९९५ को दुई सय १२ रोपनी एक आना, कित्ता नम्बर १७०२ को तीन रोपनी ५ आना र १७०७ को १९ रोपनी आठ आना जग्गा रहेको नापी कार्यालयको फिल्डबुकमा उल्लेख छ।
पहिले तारबार गरिएको यो जग्गा अहिले तारबार सार्दै अतिक्रमण भएको छ। गौचरन र सडकले विमानस्थलको जग्गा झनै खुम्चिएको र अतिक्रमण गर्नेलाई सहज बनाईदिएको छ।