काठमाडाैं- सरकारले जनस्वास्थ्यका सामान्य मापदण्ड पनि पालना नगर्ने तथा कोरोनाप्रतिको बढ्दो हेलचक्र्याइँ आत्मघाती हुनसक्ने जनाएको छ।
लकडाउन अन्त्य भएसँगै सहरी क्षेत्रमा बढ्दो भिडभाड, कोरोनाप्रति झन् संवेदनशील बन्नुपर्ने समयमा सर्वसाधारणले बेवास्ता गरेको पाइएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थिति भयावह हुनसक्ने जोखिम देखाएको हो।
स्वास्थ्य जोखिम कायमै रहेको तथा कोरोनाको मात्रामा समेत वृद्धि भइरहेको अवस्थामा अनावश्यक रूपमा नारा जुलुस गर्ने, मास्क नलगाई हिँड्ने, सामाजिक दूरी कायम नगर्ने तथा मलाई केही हुँदैन, अरूलाई नै कोरोना लागेको भन्नेजस्ता मानसिकता नै आत्मघाती हुँदै गएको छ।
यस्तै काम नै नभई घरबाट बाहिर निस्कने, सार्वजनिक सवारीसाधनमा समेत एकै ठाउँमा धेरै जना बस्ने, स्यानिटाइजरको प्रयोग नगर्ने तथा अनावश्यक रूपमा भिडभाड गर्ने प्रवृत्तिले जोखिम बढाउँदै लगेको छ।
पछिल्ला दिनमा कोभिड–१९ संक्रमणको जोखिम कम गर्न सरकार तथा विश्व स्वास्थ्य संगठनले सुझाएका रोकथामका उपायको बर्खिलाप गर्ने गतिविधि बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले त्यस्ता क्रियाकलाप आत्मघाती हुनसक्ने बताएका हुन्।
सरकारले कोभिड–१९ संक्रमण फैलनसक्ने भन्दै २५ भन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन नपाउने निर्णय गरे पनि यो वा त्यो बहानामा एकै स्थानमा धेरै मानिस जम्मा भएको पाइएको उनले बताए।
अनावश्यक भिडभाड नगर्न सरकारले बारम्बार अनुरोध गरेपनि विरोध प्रदर्शनका नाममा सडकमा भेला हुने, नारा लगाउने जुलुस तथा प्रदर्शन गर्ने गतिविधिले पछिल्ला दिनमा निरन्तरता पाइरहेका छन्।
‘अझै पनि गोष्ठी, सभा, बैठक, जलुस तथा धार्मिक कार्यक्रम गरेको पाइएको छ, यस्तो नगर्न अनुरोध छ। यो धेरै आत्मघाती हुनसक्छ, कोभिड–१९ को राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित नियमित ‘प्रेस ब्रिफिङ’ मा उनले भने।
ठूलो जनघनत्व भएका स्थानमा धेरै जना भेला भएर गरिने जुनसुकै कार्यबाट पनि संक्रमण फैलिएर जनस्वास्थ्यमा ठूलो असर गर्ने सम्भावना उच्च रहेको उनले बताए।
राजधानीमा विभिन्न माग राखेर अनशन पनि चलिरहेको छ। यसले समेत थप जोखिम बढाएको छ। सुरक्षाकर्मीसमेत कोरोनाबाट प्रभावित भएका छन्।