काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्ला दिनमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा आइसियू र भेन्टिलेटरको अभाव देखिन थालेको छ ।
यही अनुपातमा संक्रमितको संख्या बढेको अवस्थामा अस्पतालमा आइसियू र भेन्टिलेटर पाउनै मुस्किल हुनेछ ।
संक्रमितको बढ्दो संख्यालाई लिएर चिकित्सकले पर्याप्त सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेकाे खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
हाल काठमाडौं उपत्यकाभित्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, वीर अस्पताल, स्टार अस्पताल र त्रिवि शिक्षण अस्पतालमा संक्रमितको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा १५ जना संक्रमित आइसियूमा उपचाररत छन् ।
काठमाडौं उपत्यकामा पछिल्ला तीन दिनमा ८९ जना संक्रमित थपिएका छन् ।
योसँगै उपत्यकामा संक्रमितको संख्या ५ सय ८९ पुगेको छ । काठमाडौंमा ४ सय २९, ललितपुरमा ९६ र भक्तपुरमा ५७ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितको उमेर समूह १६–५५ वर्ष रहेको छ ।