काठमाडाैं- भक्तपुरका राजकुमार सुवाल नेपाल टेलिकमको पोस्टपेड मोबाइल सेवाका ग्राहक हुन् ।
०७५ भदौ २९ गते शुक्रबार साँझ ६ः४१ मा उनको मोबाइलमा टेलिकमबाट एउटा सन्देश आयो ।
जसमा लेखिएको थियो, ‘तपाईंको तिर्नुपर्ने ब्यालेन्स ४ हजार ५ सय ७३ रुपैयाँ छ र तपाईंले उपयोग गर्न पाउने ब्यालेन्स ४ सय २६ रुपैयाँ छ । सेवा बन्द हुन नदिन चाँडै बिल तिर्नुहोस् ।’
मोबाइल ब्यालेन्स अझै छ भनेर ढुक्क भएर बसेका उनलाई भोलिपल्ट शनिबार बेलुका ७ बजेतिर अर्को सन्देश आयो ।
जसमा लेखिएको थियो, ‘तपाईंको मोबाइलबाट फोन जान बन्द गरिएको छ ।’ यस्ता म्यासेज देखेपछि उनले तत्कालै ५ सयका दुइटा रिचार्ज कार्ड किनेर मोबाइलमा ब्यालेन्स भरे ।
रिचार्ज गरेपछि राति साढे ९ बजेतिर उनलाई अर्को म्यासेज आएकाे कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले खबर लेखेका छन् ।
जसमा लेखिएको थियो, ‘तपाईंले तिर्नुपर्ने रकम ३ हजार ८ सय ४० रुपैयाँ छ भने उपभोग गर्न मिल्ने ब्यालेन्स अझै १ हजार १ सय ६० रुपैयाँ छ ।’
ब्यालेन्स सकिएका कारण आएको फोन मात्रै उठाउन मिल्ने तर फोन गर्न नमिल्ने अवस्थामा पुगेको मोबाइल खुल्ने प्रतीक्षामा उनले रात कटाए । तर मोबाइलको सेवा भोलिपल्ट बिहान ११ः४५ तिर मात्रै पुनः सुरु भयो ।
सुवाल त्यो बेलामा रोटरी क्लब अफ भक्तपुरका अध्यक्ष थिए । क्लबले सिन्धुपाल्चोकमा भोलिपल्ट एउटा कार्यक्रम राखेको थियो, जसको तयारीका लागि सुवाललाई फोन अत्यावश्यक थियो ।
‘रातभर फोन बन्द भएपछि मैले कार्यक्रमको तयारी गर्न पाइनँ, साह्रै मानसिक तनाव भयो,’ पेसाले अधिवक्ता रहेका सुवाल भन्छन्, ‘साह्रै तनाव भएपछि टेलिकमलाई मुद्दा हाल्ने निष्कर्षमा पुगें ।’