गोरखा- गाउँपालिकाको प्रशासनिक भवन निर्माणको विषयलाई लिएर स्थगित भएको गण्डकी गाउँपालिको चौंथो सभा तत्काल बोलाउन दुई तिहाई भन्दा धेरै सदस्यहरुले हस्ताक्षर सहित माग गरेका छन् ।
कार्यपालिका भित्रका २५ जना सदस्यहरु मध्ये १८ जनाले हस्ताक्षर गरेर सोमबार पालिका अध्यक्ष होम बहादुर रानालाई पत्र बुझाएका हुन् ।
प्रशासनिक भवनका लागि विनियोजन गरिने बजेट सञ्चित कोषमा राखेर पछिल्लो सहमति अनुसार कार्यान्वयन गर्ने गरी काम गर्न पत्रमा उल्लेख भएको छ ।
प्राकृतिक प्रकोपमा परेका परिवार समुदायहरुहरुको उद्धारमा समेत पालिकाले काम गर्न नसकेको अवस्थामा प्रशासकिय अधिकृत र पालिका प्रमुखलाई जिम्मेवार भएर अघि बढ्न सुझाव दिइएको छ ।
धेरै भन्दा धेरै जनतालाई सुविधा हुने गरी काम गर्न जनप्रतिनिधिहरु लाग्नुपर्ने समयमा गाउँपालिकाको सभा नै नगर्नु जनविरोधी क्रियाकलाप भएको पत्रमा लेखिएको छ ।
गाउँपालिकाको सभा नहुँदा विकासमा असर पर्ने भएकाले आफूहरुले हस्ताक्षर सहित पत्र दिएको वडा नं. ७ का वडा अध्यक्ष तुलसी रेग्मीले बताए ।