काठमाडौं- काठमाडौं उपत्यका कोरोना भाइरसको उच्च जोखिम अर्थात् ‘रेडजोन’मा परेको छ । दैनिक संक्रमण बढ्दै गएको उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् ।
तर, एकचौथाइभन्दा बढी उपत्यकावासीले मास्क नलगाउने गरेको पाइएको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो २४ घन्टामा एक सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकामध्ये काठमाडौंका एक सय १०, ललितपुरका १६ र भक्तपुरका आठजना छन् । एक महिनायता संक्रमण पुष्टि हुने क्रम बढ्दै गएको छ । चिकित्सकहरूले पनि उपत्यका कोरोनाको ‘हट स्पट’ बन्दै गएको बताएका छन् ।
उपत्यका रेडजोनमा परे पनि यहाँका बासिन्दाले कोरोनाबाट जोगिने न्यूनतम मापदण्डसमेत पालना नगरेको एक अध्ययनले देखाएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनमा शिक्षित व्यक्तिलाई पनि मास्क प्रयोग गर्नेबारे सामान्य ज्ञान नभएको देखिएको छ । परिषद्ले व्यक्तिगत र संस्थागत गरी सात हजार दुई सय पाँचजनाको अध्ययन गरेको थियो । यो संख्याले उपत्यकाको प्रतिनिधित्व गरेको परिषद्ले जनाएको छ।