काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवामा ‘विधान मिच्दा बहादुर ठहर्छु’ भन्ने मानसिकता रहेको टिप्पणी गरेका छन्।
सभापति देउवाले विधान मिचेर पटकपटक विभागहरु गठन गरेको सम्बन्धमा ध्यानाकर्षण गराइएको तर जति मिच्न सक्यो त्यति बहादुर र बलवान ठहर्छु भन्ने मानसिकता रहेको पाइएको टिप्पणी पौडेलले गरेका हुन्।
विधान मिचेर बहादुर देखाउन खोज्ने प्रवृत्तिका कारण पार्टी प्रजातान्त्रिक हो कि होइन भन्ने खतरा बढेको उनको भनाइ छ।
‘हामीले बारम्बार पार्टीलाई विधानमा ल्याउन पार्टी सभापतिलाई ध्यानाकर्षण पटकपटक गर्दै आयौं। तर नेपाली कांग्रेसभित्र कस्तो भएको छ भने विधान मिच्नु बहादुरी हो जस्तै हाम्रो सभापतिलाई लाग्छ कि,’ नेता पौडेलले भने, ‘विधान मैले जति मिच्न सकेँ, म त्यति बलवान सभापति ठहर्छु भन्ने उहाँको मानसिकता छ जस्तो मलाई लाग्छ। त्यसले यो पार्टी डेमोक्रेटिक पार्टी नै हो की होइन भन्ने खतरातिर जान लाग्यो भनेर हामी चिन्तित भएको हो।’
सभापति देउवालाई विधान मिच्ने बानी परिसकेको पौडेलले बताए। आफू बहादुर भन्ने भ्रम भएकाले सभापतिले पटकपटक विधान मिचेर विभाग गठन गरेको टिप्पणी पौडेलको छ।
‘यो मिच्ने बानी पर्यो। हाम्रो सभापति मैले जे गरेपनि हुन्छ भन्ने सोच्नुहुन्छ। मलाई सम्झना छ यो देशमा कानून तोड्यो भने गृहमन्त्रीले तोड्छ। म गृहमन्त्री भएको हुनाले मैले हो तोड्ने कानुन भनेर बोलेर धाक लगाएर हिँडनुहुन्थ्यो एकताका। उहाँलाई जे बोलेपनि सबैले हाँसेर लिइदिन्थे,’ नेता पौडेलले भने, ‘अहिले पनि उहाँ त्यही गर्दै हुनुहुन्छ। मैले हो तोड्ने। म त बहादुर नि भनेर यो बहादुरीले कांग्रेसलाई क्षति पुर्यायो। यो बहादुरीले प्रजातन्त्रलाई, लोकतन्त्रलाई अत्यन्त ठूलो घात गर्यो, क्षति पुर्यायो र घायल बनायो।’