काठमाडौं– एनसेल आजियाटा लिमिटेडले चौथो पुस्ता (फोरजी)को मोबाइल सेवा फोरजी/लङ टर्म इभोलुसन (एलटिई) नेटवर्क विस्तार गरिएका देशका सबै स्थानमा उपलब्ध हुने गरी ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा ल्याएको छ।
अल्ट्रा वाइफाइ सिम प्लस उपभोक्ताका लागि मासिक ४० जिबी डेटा भोलुम बन्डल सहितको एक विषेश सिम कार्ड भएको कम्पनीले जनाएको छ।
वाइफाइ सेवाका लागि बन्डल डेटाबाहेक ग्राहकले यो सेवाअन्तर्गत दुई वटा सिम पाउँछन्। जसमा प्रत्येक महिना डेटा, अन नेट टक टाइम र डिजिटल कन्टेनहरु बन्डल सेवाका रूपमा पाइने एनसेलले जनाएको छ।
आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत कम्पनीले वायरलेस कनेक्टिभिटीको बढ्दो मागलाई सम्बोधन गर्न देशैभर विस्तार गरिएको फोरजी नेटवर्कमा रहेका उपभोक्ताकालाई लक्षित गर्दै यो सेवा ल्याएको हो।
ग्राहकले यस योजनाअन्तर्गत पाइने सिम कार्डलाई आफ्नो मोबाइल ह्याण्डसेट अथवा कुनै पनि फोरजी सर्पोट गर्ने डिभाइस, मिफी डिभाइस वा वायरलेस डिभाइसमा यो सिम राखी डेटा कनेक्टिभिटी र वाइफाइ हटस्पटको फाइदा लिन सक्छन्।
ग्राहकले यस सिमलाई फोरजी डिभाइसमा राखेपछि सबैभन्दा नजिकैको फोरजी टावरसँग यो सिम कनेक्ट हुने र यो टावरले सेवा प्रदान गर्ने क्षेत्रभित्र यो वाइफाइ सेवा उपलब्ध हुने कम्पनीको भनाइ छ।
‘सबै फोरजी कभरेज एरियामा रहेका उपभोक्ताका लागि बन्डल सेवासहित सुलभ र झन्झटरहित ‘अल्ट्रा वाइफाइ सिम प्लस’ योजना ल्याउन पाएकोमा हामी हर्षित छौं,’ एनसेल आजियाटाका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘घर तथा साना व्यवसाय लक्षित यस सेवाले धेरैभन्दा धेरै उपभोक्तालाई इन्टरनेटमा पहुँच प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न योगदान गर्ने विश्वास लिएका छौं।’
यो सेवाको शुल्क वार्षिक शुल्क योजनाअन्तर्गत करबाहेक मासिक ४३० रूपैयाँ रहेको छ। ग्राहकले यस अल्ट्रा वाइफाइ सिम प्लस सेवामा वायरलेस डेटा सेवाका लागि मासिक रुपमा ४० जिबी वायरफ्री प्लस डेटा पाउँछन्।
यसका साथै बन्डल प्याकेजका रुपमा प्रत्येक महिना ५ जिबी डेटा, ५० मिनेट अन नेट टक टाइम र प्रभु टिभी र दामी म्युजिक डिजिटल सेवाहरु पाइने दुई वटा फोरजी सिम पाउँछन्।