काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप दुई सय १६ जना कोरोना भाइरस सङ्क्रमित देखिएका छन्।
काठमाडौँमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० गरी २१६ जनामा सङ्क्रमण देखिएको हो। शुक्रबार १७२ जनामा कोरोना देखिएकोमा शनिबार यो सङ्ख्या ह्वात्तै बढेको हो।
निषेधाज्ञा जारी गरे पनि काठमाडौंँमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्न नसकेको खबर आजको गोरखापत्र दैनिकमा सरोज ढुंगेलले लेखेका छन्।
जनस्वास्थ्यविद्ले काठमाडौंँमा कोरोनाले जटिल रूप लिन सुरु गरिसकेको चेतावनी दिएका छन् । व्यवस्थापकीय कमजोरीका कारण काठमाडौंँ उपत्यका लगायतका स्थानमा कोरोना सङ्क्रमित बढिरहेको आरोप उनीहरूको छ।
भियतनाम, थाइल्यान्ड, कम्बोडिया, लाओस जस्ता देशमा नयाँ सङ्क्रमित शून्य भई विद्यालय, कलेज सञ्चालन भई जनजीवन सामान्य अवस्थामा आइपुगेको भन्दै ती देशका नागरिकले जनस्वास्थ्यका मापदण्ड पूरा गरेको हुनाले अवस्था सामान्य भएको उनीहरूको बुझाइ छ।
त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजिस्ट केन्द्रीय विभागीय प्रमुख मेघराज बन्जाराले नेपालमा नागरिकले जनस्वास्थ्यका नियम पालना नगरेकाले सङ्क्रमित घट्न नसकेको बताए।
अहिले देखिएका ‘केस’ साउन महिनाको भएकाले निषेधाज्ञा भए पनि सङ्क्रमणको सङ्ख्या धेरै देखिएको उनको भनाई छ।