काठमाडौं- चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ : १५ बजे काठमाडौं आइपुग्ने तालिका छ।
दुबईबाट २६० भन्दा बढी यात्रु लिएर वाइडबडी जहाज साँझ काठमाडौं आइपुग्ने निगमका प्रवक्ता अर्चना खड्काले बताइन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा निगमले काठमाडौं–दुबईका लागि रद्द उद्धार उडान सञ्चालन गरेको हो।
निगमको गत १८ अगष्टका लागि दुबईबाट काठमाडौंका लागि तय गरिएको उडान यात्रुलाई काठमाडौंमा क्वारेन्टाइनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगन गरेको थियो।
उक्त दिन दुबईबाट काठमाडौं उडानका लागि टिकट लिइसकेका यात्रुका लागि आज उडान गरिएको निगमले जनाएको छ। त्यस दिन काठमाडौंबाट २३५ यात्रु तथा १५ टन कार्गो लिएर गएको निगमको वाइडबडी जहाज दुबईबाट रित्तै काठमाडौं फर्किएको थियो।
जहाज रित्तै फर्केपछि सम्बन्धित निकायको चौतर्फी आलोचना भएको थियो। उडानका लागि दुबई विमानस्थलमा तयारी अवस्थामा रहेका यात्रु अलपत्र परेका थिए।
हालैको मन्त्रिपरिषद् बैठकले उद्धार उडान सञ्चालन गर्न अनुमति दिएको थियो। मन्त्रिपरिषद्को यही बिहीबार बसेको बैठकले भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो।