गाेरखा- वि सं २०७३ मा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा जिल्लाका साविकको फुजेल, दर्बुंङ, भुम्लिचोक, घ्याल्चोक, ताङ्लिचोक र मकैसिङ गरि ६ वटा गाउॅ विकास समितिलाई समेटेर गण्डकी गाउँपालिका घोषणा गर्यो।
गाउँपालिका घोषणा गरेसंगै ८ वटा वडामा विभाजन गर्दै संघिय सरकारले केन्द्रका रूपमा भुम्लिचोकलाई केन्द्रमुकाम कायम गर्यो । भुम्लिचोकमा केन्द्र भएपछि दुईपटक बजेट ल्याएको कार्यपालिकाले अार्थिक बर्ष २०७७/७८ का लागी बजेट असार १० ल्याउनुपर्ने बजेट भदौं ८ गतेसम्म ल्याउन सकेको छैन् ।
जिल्लाका १० वटै स्थानीय तहले बजेट ल्याँउदा समेत गाउँपालिकाले बजेट ल्याउन सकेको छैन् । सिमित व्यक्ति तथा गाउँपालिकाको नेतृत्वको स्वार्थ तथा कमजोरीका कारण असार १० गते आउनुपर्ने बजेट केन्द्र विवादका कारण आउन नसकेको हो ।
जिल्लाका केहि स्थानीय तह बाहेक हालसम्म केन्द्र कायम भएको छैन् । अजिरकोटको केन्द्र अझै विवाद कायम नै छ। सिरानचोकको केन्द्र चित्रेपोखरी कायम भएपनि कार्यपालिकाको बहुमत सदस्यको निर्णय प्रदेश सरकार हुदैँ केन्द्र सरकारमा पठाएको छ । बारपाक-सुलिकोटको केन्द्र विवाद कायम नै छ । भने, भिमसेन थापाको केन्द्र समेत कायम भएको छैन् ।
‘बहुमत र अल्पमत’को खेलमा गाउँपालिका
नेपाली कांग्रेसबाट निर्वाचित भएका होमबहादुर रानामगर गाउँपालिका अध्यक्ष छन् । उनी कार्यपालिका सदस्य तथा गाउँसभा सदस्यमा अल्पमतमा भएको कारण बजेट ल्याउन नसकेका हुन् । उनी अल्पमतमा भएपछि निति तथा कायक्रम समेत ल्याउन सकेका छैनन् । उनकै स्वार्थका कारण स्थानीयले असार १० मा पाउनुपर्ने बजेट आजसम्म पाएका छैनन् ।
कार्यपालिकामा १६ जना सदस्यमध्ये १० जना नेकपा निकटका छन् भने बाँकी नेपाली कांग्रेस निकटका छन् । ४४ सदस्य रहेको गाउँसभामा २५ जना नेकपाका छन् भने बाँकि नेपाली कांग्रेसका छन् । २०७४ साल कार्तिक २३ गते बसेको गाउसभाको बैठकले गाउँपालिकाको प्रशासनिक भवन वडा नं ६ मा नै निर्माण गर्ने निर्णय गरेको थियो । यहि निर्णयका कारण गाउँपालिका अध्यक्ष समस्यामा परेका छन् ।
नेकपा निकटमा सदस्यले हाल कायम भएको केन्द्रभन्दा फरकस्थानमा केन्द्र तोक्न माग गरेका छन् । उनीहरूले वडा न ६ को बनटारमा केन्द्र कायम गर्न माग गरेका छन् । तर, गाउँपालिका अध्यक्ष रानामगर भने दुईतिहाइ सदस्य भएमा लाकुरीबोटमा सार्न चाहान्छन् । तर, उनी कार्यपालिका तथा गाउँसभामा अल्पमतमा भएका कारण त्यो सम्भव भएन् । नेपाली कांग्रेस निकटका सदस्यले भने ओखलडाँडामा सार्न चाहान्छन् ।
यी ३ स्थानमध्ये एक स्थानमा केन्द्र कायम हुनेछ । अब बस्ने गाउँसभाले केन्द्र कायम गर्ने छ । स्थानीय सरकार ऐन अनुसार मतदानमा गएपनि नेकपाले चाहेको स्थानमा गाउँपालिकाको केन्द्र कायम हुने छ । किनकि, नेकपासंग गाउँकार्यपालिका तथा गाउँसभामा बहुमतमा छ ।
स्थानिय तह सरकार ऐनमा एकतिहाइ सदस्यभन्दा बढिले सदस्यले गाउसभा तत्काल गर्न माग गरेपछि १५ दिनभित्र गाउँपालिका अध्यक्षले गाउँसभा बोलाउनुपर्ने कानुनी व्यवस्था छ । गत साउन २७ गते गाउँसभाका २५ जना सदस्यहरु मध्ये नेकपाका १८ जना सदस्यले हस्ताक्षर नै गरेर गाउँसभाको बैठक बोलाउन माग गरेका थिए ।
गाउँपालिका अध्यक्षलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ ‘प्राकृतिक प्रकोपमा परेका गाउँपालिका भित्रका पिडित समुदायहरुहरुको उद्धारमा समेत पालिकाले काम गर्न नसकेको अवस्थामा प्रशासकिय अधिकृत र गाउँपालिका प्रमुखलाई जिम्मेवार हुदै धेरै भन्दा धेरै जनतालाई सुविधा हुने गरी काम गर्न जनप्रतिनिधिहरु लाग्नुपर्ने समयमा गाउँपालिकाको सभा नै नगर्नु जनविरोधी क्रियाकलाप हो ।’
गाउँपालिकाको असार १३ गते बसेको कार्यपालिकाको बैठकले प्रसाशनिक भवन बनाउ भन्दै २ करोड ५० लाख बजेट छुट्टायो ।गाउँपालिकाको केन्द्र नै निर्धारण भई नसकेको अबस्थामा गाउँपालिकाले बजेट बिनियोजन गरेकाले भवन निर्माण गर्ने वा नगर्ने भन्ने बिबाद हुदा गाउँसभाको बैठक हुन नसकेको हो ।
‘पहिले केन्द्रको भवन टुङग्याउन । त्यसपछि मात्र भवन निर्माणको काम अघि बढाऔं भन्ने नेकपा निकट सदस्यको माग हो, एक सदस्यले भने, स्थानको टुङगो नलागी भवन बनाउदा अन्तै स्थान निर्धारण भए बजेट खेर जान्छ भनेर हामीले यस्तो अडान लिएका हौँ ।’
अध्यक्ष रानामगर भन्छन् : भदौ महिनामा बजेट आँउछ
‘गाउँपालिकाले विभिन्न चरणमा छलफल गरिरहेकाे छ’ गाउँपालिका अध्यक्ष रानामगरले भने ‘हामीसंग निति तथा कार्यक्रमका साथै बजेटपनि तयार अवस्थामा छौ । त्यसैले भदौ महिनाभित्रमा गाउँपालिकाका नागरिकले विकासका योजना पाउनु हुन्छ ।’
उनले बजेट समयमा नआएपनि प्रसासनिक समस्याहरु भने खासै नरहेको बताए । ‘साउन महिनामा खासै प्रसासनिक कामहरू हुन्न’ उनले भने ‘असारको १० गते बजेट सार्वजनिक गर्ने नीति भएपनि कार्यान्वयन दशैपछि मात्रै सुरु हुने हो तर हामी भदौं महिना भित्रका सवै कुरा सिध्याउछौ ।’
वडा न ६ का वडाअध्यक्ष भन्छन् : केन्द्र नै टुङ्गिएको छैन्, किन बजेट छुट्टाइयो
वडा न ६ का वडाअध्यक्ष जिवन गुरूङ्गले भने केन्द्र विवादका कायम भएकै समयमा किन बजेट छुट्टाइयो भन्ने बिषयले नै विवाद उत्पन्न दावी गर्छन् । ‘बजेटकोबारेमा बहुमत र अल्पमतको खेलमा हामी लागेका छैनौं’ उनले भने ‘प्रशासनिक भवनलाई भनेर उहाँहरूले छुट्टाउनु भयो । केन्द्रको बिषयमा निर्यण नै नभएपछि प्रशासनिक भवनलाइ किन बजेट छुट्टाइयो भनेर प्रश्न गरेपछि विवाद भएकाे हाे।’
‘बहुमत सदस्यहरूको केन्द्र बनटारमा राख्न माग गरिएको छ’ उनले भने ‘साविकको केन्द्र भन्दा सबै वडालाई पायक पर्ने स्थान भनेको नै बनटार हो । त्यसैले हामीले केन्द्र बनटारमा नै राख्नुपर्छ भनेर प्रश्न गरेपछि बजेट आउन ढिलाइ भएको हो ।’
बनटारमा प्रशस्त जग्गा उपलब्ध हुने भन्दै वडाअध्यक्ष गुरूङ भन्छन् ‘स्थानिय सरकार सञ्चालन भएको करिब ६ महिनापछि नै वडा न ६ मा नै केन्द्र तथा प्रशसानिक भवन बनाउने भन्दै बहुमत सदस्यले निर्णय गरेको थियो । त्यैले बनटारमा जग्गाको समस्या हुन्न ।’
साविकको मकैसिङलाई वडा नं १, ताङलिचोकलाई वडा नं २, फुजेल वडा नं ३ र ४, दर्बुङ वडा नं ५, भुम्लिचोक वडा नं ६ र घ्याल्चोक नं ७ र ८ मा समायोजन गरी गाउँपालिकाको निर्माण गरिएको छ ।
यस गाउँपालिकाको जम्मा क्षेत्रफल १२३।८६ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिका भित्र विभिन्न जातजातीहरुको बसोबास रहेको छ जसमा प्रमुख जातजातीहरु ब्राहमण, नेवार , मगर, गुरुङ, चेपाङ, क्षेत्री, सार्की आदिको मिश्रित बसोबास रहेको छ ।