काठमाडौं- बानेश्वर, चितवनलगायतका क्षेत्रमा कोरोना संक्रमितमाथि छरछिमेकीले अमानवीय र असहिष्णु व्यवहार देखाएको समाचार बाहिर आइरहेका बेला धुलिखेलका एक समाजसेवीको परिवारलाई छरछिमेकी र स्थानीय प्रतिनिधिले किरियापुत्री बसेकै अवस्थामा लखेटेका छन्।
समाजसेवी रामचन्द्र घिनाञ्जुको कोरोना संक्रमणकै कारण ९८ वर्षको उमेरमा गत साता निधन भएपछि किरियामा बसेका उनका छोरासहितको परिवारलाई स्थानीय जनप्रतिनिधिसमेतले जबरजस्ती लखेटेका खबर आजको समाचारपत्र दैनिकले छापेको छ।
‘यस क्षेत्रमा समाजसेवीका रुपमा स्थापित मेरा पितालाई दागबत्ती दिन पाइनँ, धैर्य गरेरै बसेको थिएँ, छरछिमेकी र जनप्रतिनिधिहरु नै आएर गाउँ छोडेर जा भनेपछि म सार्वजनिक भएको छु, अब नाम गोप्य राखिरहनुको के अर्थ?’घिनाञ्जुका छोरा रामेश्वर घिनाञ्जुले भने।
‘आजीवन समाजसेवा केका लागि, मेरो गाउँ–समाज भन्नु किन?’ उनले भने, ‘मैले सबै कुरा फेसबुकमा लेखेको छु, त्यही हेरिदिनुहोला।’
उनले फेसबुकमा लेखेका छन् – कोरोना संक्रमित भएर अस्पतालको आइसोलेसनमा बसेका बेला मेरा आदरणीय पिता रामचन्द्र घिनाञ्जु ९८औं वर्ष प्रवेश गर्नासाथ हामीबाट सदा सदाका लागि कुनै दुःख नै नदिई जानुभयो। समाजसेवाको बाटो सिकाएर र जीवन समाजका लागि समर्पित गर्नुपर्छ भन्दै बित्नुभयो। बुबा, तपाइँले सिकाएको बाटाहरु बिर्सने छैनौं।
बुबा, हजुरलाई श्रद्धाञ्जली दिन पनि हामीले त्रसित हुनुपरेको छ। यो के आइलाग्यो, हाम्रो परिवार र शुभचिन्तकहरुसामु। सबैसमक्ष यथार्थ राख्नैपर्ने बाध्यता पनि आइलाग्यो । आफूले आफूलाई सम्हाल्ने कोसिस कति गरें, मन बिचलित भयो, निद र भोक दुवै हरायो । सहनै सकिनँ । के यो धुलिखेलबासीलाई हजुरले गरेको सेवाको उपहार हो बा?
हामीलाई तपाईंको तस्वीरमा हेरेर तपाईंको चिरआत्माको कामना गर्न, शान्तिको दीप बाल्नसमेत मौका दिइएन बा । यो मेरो सेतो धोती कपडा मात्र नभएको भए हाम फालेर निस्कने थिएँ । यी पापीहरुसँग लडाइँ लड्थें । तपाईंलाई दाग बत्ती दिने अन्तिम कर्तव्य पनि पूरा गर्न पाइनँ बा । दाई पनि बूढो हुनुभयो र सक्नुहुन्न भनेर मैले दागबत्ती दिने इच्छा थियो।