कोरोना फैलिएर गयो संसार नै बन्यो ग्रसित
अस्तित्व जोखिममा पर्दा मान्छे भयो त्रसित
नेपाल नि कोरोनाबाट हुन सकेन अछुटो
लकडाउन जारी भयो पछि नमान्न पछुटो
आफ्नै ठाउँमा सुरक्षित रहन आएको आदेश
लम्बिँदा लाग्यो सबै आफ्नो घर गएको बेस
भरिया मजदुर मारमा परे लकडाउनको बेला
भारी बोक्न पाएनन् अनि गुड्न पाएनन् ठेला
कतिपय घर पुगे कैयौं किलोमिटर यात्रा गरेर
कोही बाध्य बनाइए जन्मभूमि छिर्न नदी तरेर
घर पुग्ने आशमा कैयौं रात बिताए सडकमा
फेसबुक भरियो ठूलाबडाको तडकभडकमा
शहरबाट फर्केका मान्छेले गाउँघर सब भरियो
लाग्यो बहत्तर सालको भुइँचालो नै दोहोरियो
ज्याला मजदुरी गर्ने कामबाट हुनुपर्यो वञ्चित
कसरी गुजारा गरून् छैन केही रकम सञ्चित
सरकारले धेरै पैसा खर्च गर्यो राहतको नाउँमा
तर कुहिएको चामल बाँडियो कतिपय ठाउँमा
सरकारले निजी डाक्टरलाई दिन सकेन नि सुबिधा
निजी अस्पताललाई विरामी जाँच्न पर्यो नि दुविधा
लकडाउनको समय सकिएन नेताहरुको कलह
परिस्थिति विषम बनाउन नेपाल भित्रियो सलह
करोडौँ भ्रष्टाचार भो स्वास्थ्यसामग्री किनबेचमा
सरकारमा कुनै प्रभाव छैन जनताको घोचपेचमा
राष्ट्रपति भवनमा जब लाखौंको कार्पेट भित्रियो
र सरकारको विरोध गर्न जनता सडकमा उत्रियो
भोकले नै रन्थनिन थाल्यो निम्न वर्गको परिवार
साहु महाजनकहाँ थाल्यो पाक्न नौलो परिकार
मध्यमवर्गीय थलियो जब सुक्न थाल्यो व्यापार
अवसर छोपी नेता सम्पत्ति लुट्न थाल्यो अपार
गरिब जनता माग्न थाले भोक नलाग्ने ओखति
अन्धो सरकारले देख्न छोड्यो गरिबको दुर्गति
समाजको कमजोर वर्ग परे समस्याको घेरामा
भोको पेटमै सुत्न बाध्य पैसा नतिरेको डेरामा
गरिबको बस्ती आँसुमा डुब्दा खोई रोएन महल
गरिबको सहायतामा सरकारको देखिएन पहल
केही नभएकालाई कष्ट थियो एक छाक टार्न
र धनी व्यस्त थियो मिष्ठान्न फेसबुकमा उतार्न
धनीको घरमा रौनक गरिब निस्सासियो झुपडीमा
अष्ट्रेलियाका नेपालीप्रति चिन्ता तर खोई खाडीमा
निजी शिक्षकलाई घर चलाउन पैसा भो अभाव
विद्यालय सुचारू नगर्न सरकारको थियो दवाव
घरमै बसी सरकारी कर्मचारीको पाक्यो है तलब
निजीलाई पैसा नदिँदा सरकारलाई छैन मतलब
कार्यालयहरु बन्द अनि ठप्प छ हरेक व्यवसाय
जीवन कसरी गुजारुन् देशका गरिब र असहाय
न त हुन सक्यो कर्जावालालाई ब्याज मिनाहा
कहाँबाट ल्याएर तिर्छन् सरकारलाई के थाहा
निमुखा मरेर पनि सरकारमा पाइएन कुनै चासो
लकडाउन बनेको छ गरिब मार्न थापिएको पासो
उल्लङ्घन गरेमा सोझा सीधालाई मात्र कारवाही
तर लकडाउन बढाएर सरकारले पाउँदैन वाहवाही रोकिएन
अवैध तरिकाले भारतबाट नेपाल छिर्न
सरकार जनतालाई पेल्न थाल्यो छिटो कर तिर्न
मान्छे घरमै लुक्न थाले कम भएको छ भिडभाड
खुलेर मनाउन नपाएकोले खल्लो भएको छ चाड
जीवन जिउन गरिब खोज्दैछन् पसिना बगाउन
सरकार खोज्छ लकडाउन केही महिना बढाउन
कोरोना सँगै अरु समस्याको बुझ्नु पर्छ वृत्तान्त
लकडाउनको विकल्पको आवश्यक छ नितान्त