गोरखा- उत्तरी गाेरखा प्रवेश गर्ने वैकल्पिक सडक योजनाका रूपमा हेरिएको बाहुनबेशी-लाँकुरे सडकखण्डको मोटरबल पुल बनाउन ढिलाइ भएको छ।
बारपाक सुलीकोट गाउँपालिका-७ बाहुनबेशी र आरुघाट गाउँपालिकाको लाँकुरे जोड्ने मोटरेबल पुल बनाउन दुईबर्षअघि डिपिआर गरे पनि अहिलेसम्म ठेक्का प्रक्रिया सुरु नभएको हो ।
गण्डकी प्रदेशको पूर्वाधार कार्यालयले २०७५ सालको जेठ असारमा डिपिआर गरेको सो ठाउँमा अहिलेसम्म पुल निर्माणको काम सुरु भएको छैन् ।
बुढिगण्डकी जलबिद्युत आयोजनाका कारण डुवानमा परेपछि वैकल्पिक सडक योजनाका रूपमा हेरिएको यो सडककाे विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) हुदाँ समेत बजेट नआएपछि स्थानीय चिन्तित भएका छन् ।
‘२०७५ सालको जेठ २० गतेदेखि असार चार गतेसम्म लगाएर जेएनआर–क्ले–सिईसी जेभी कम्पनीले डिपिआर गरेको हो’, स्थानीय दिर्घराज गुरुङले भने, ‘अब २०७६ को साउनमा सो ठाउँमा २५ मिटर लामो पुल बनाउन बजेट आउने र कार्यक्रम अघि बढ्ने भनिएको थियो तर दुई बर्ष भइसक्यो अहिलेसम्म बजेट कार्यक्रम नै आएन ।’
कार्यालयमा सम्पर्क गर्दा कार्यक्रम आउँछ-आउँछ मात्र भनेर टार्ने गरिएको उनले गुनासो गरे । बारपाक सुलीकोट ७ पाँचखुवादेउरालीदेखि बाहुनबेशी, लाँकुरे, चुरुङ हुदै आरुघाट पुग्ने सडकको बाहुनबेशी र लाँकुरे जोड्ने गरी स्थुलखोलामा पुल निर्माण गर्न सर्भे गरिएको उनले बताए ।
सो ठाउँमा पुल बनेपछि आरुघाट डुबान भइसकेपछिको अबस्थामा वैकल्पिक सडक हुनसक्ने स्थानीयको अनुमान छ । आरुघाटको पनि छेउमा र सुलीकोट गाउँपालिकाको पनि छेउमा भएकाले सबैतिरबाट उपेक्षामा परेको स्थानीयबासीको आरोप छ ।