काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सभापति शेरबहादुर देउवासँग आसन्न महाधिवेशनमा गठबन्धन गराउने गरी भित्री साँठगाँठ नभएको स्पष्ट पारेका छन्।
कोइरालाले सभापति देउवासँग भेट नभएको बताएका छन्। उनले भने, ‘डेढ महिनादेखि घरबाट बाहिर निस्ककै छैन। होटलमा भेटेको भन्ने कुरा असत्य हुन्।’
उद्योगी विनोद चौधरीको ललितपुर स्थित होटलमा दुई साताअघि देउवा र कोइराला पक्षका नेताहरुबीच वार्ता भएको थियो। उक्त वार्तामा देउवा र कोइरालाले सहकार्य गरेर आसन्न महाधिवेशनमा उम्मेदवारी दिने विषयमा छलफल भएको बताइएको थियो।
१४ औं महाधिवेशनमा कोइरालालाई सभापतिमा देउवाले समर्थन गर्ने विषयमा दुई पक्षका नेताहरुले संवाद गरेको बताइएको छ। देउवा पत्नि आरजु राणालाई सभापतिको प्रत्यासी बनाएर संस्थापनले कोइरालालाई सहयोग गर्नेगरी संवाद भएको बाहिर चर्चा चलेको थियो।
देउवा पक्षबाट उमेश श्रेष्ठ र मकवानपुरका जिल्ला सभापति इन्द्र बानियाँ सहभागी भएको बताइएको छ। साथै, महामन्त्री कोइराला पक्षबाट नेताहरु डा मिनेन्द्र रिजाल र दिपक गिरी सहभागी भएको बताइएको छ।
भिडिओ संवादका क्रममा बोल्ने क्रममा कोइरालाले पार्टीभित्र आन्तरिक तिक्तता हटाउन आग्रह गरे। कोभिड १९ ले महाधिवेशनको कार्यतालिका प्रभावित भएको स्वीकार्दै उनले भने, ‘महाधिवेशन फागुनबाट डेढ महिनाभन्दा पर लान हुँदैन।’