काठमाडौं- कोरोनाका कारण पछिल्लो पटक संशोधित कार्यतालिकामा पनि महाधिवेशन नहुने अवस्था बन्दै गएपछि कांग्रेस वृत्तमा महाधिवेशनलाई विकेन्द्रीकरण गर्न आवाज उठ्न थालेको छ।
कांग्रेसले कोरोनाकै कारण केन्द्रको महाधिवेशन मितिबाहेकका तल्ला तहका अधिवेशनको कार्यतालिकालाई दुई पटक संशोधन गरिसकेको छ।
पछिल्लो पटक संशोधन गरेको तालिकासमेत कोरोनाकै कारण प्रभावित भएपछि महाधिवेशनलाई विकेन्द्रीकरण गरेर भए पनि गरिनुपर्ने विकल्पको आवाज उठ्न थालेको हो।
कांग्रेसको विधानतः गत वर्षको फागुनमै निर्वाचित केन्द्रीय समितिको म्याद सकिएको थियो । तर, विधानअनुसार सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गरेका थिए । थप समयसमेत आगामी फागुनमा सकिँदै छ।
यस अवधिमा समेत महाधिवेशन हुने अवस्था नभएपछि कांग्रेसका वर्तमान पदाधिकारीसहित पूर्वपदाधिकारीले महाधिवेशन गर्ने तरिका बदल्नुपर्ने भन्दै विकल्प अघि सारेका खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।
यस्तो विकल्पसहितको प्रस्ताव अघि सार्नेमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र युवा नेता गगन थापा छन्।
उनीहरूले एक भर्चुअल कार्यक्रमको छलफलमार्फत संघीय संरचनाअनुसार वा जिल्ला तहमै महाधिवेशनका लागि मतदान गर्न सकिने गरी निजी प्रस्ताव अघि सारेका हुन्।
सिटौलाले अब फागुनमा महाधिवेशन हुने सम्भावना आफूले नदेखेको र कोरोनाकै कारण महाधिवेशन नगर्ने हो भने अझै तीन–चार वर्ष महाधिवेशन गर्न नसकिने भन्दै तरिका बदलेर भए पनि महाधिवेशन गरिनुपर्ने बताए ।