काठमाडौं- त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक नै कांग्रेसको पार्टी कार्यालयमा कर्मचारीको रूपमा काम गरेको पाइएको छ।
कांग्रेस कार्यालयमा मुख्यसचिवपछिको वरीयतामा रहेका सचिव प्रदीप पराजुली पाटन संयुक्त क्याम्पसमा समाजशास्त्र विषयका सहप्राध्यापक हुन्।
उनी कांग्रेसको केन्द्रीय कार्यालयमा लामो समयदेखि सचिवका रूपमा कार्यरत रहेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले केही समयअघि त्रिविमा राजनीतिक हस्तक्षेप भएको भन्दै विज्ञप्ति नै निकालेको थियो । तर, सरकारको कदमको विरोध गर्ने कांग्रेसको केन्द्रीय कार्यालयमै प्राध्यापक सचिवको रूपमा क्रियाशील छन् ।
आंशिकबाहेकका त्रिविका सबै शिक्षकले शैक्षिक संस्थामा आंशिक रूपमा पढाउनसमेत केन्द्रीय कार्यालयबाट स्वीकृति लिनुपर्छ । तर, पराजुलीलाई कांग्रेस कार्यालयमा सचिवका रूपमा काम गर्न क्याम्पसबाट सिफारिस भएको छैन र केन्द्रले समेत स्वीकृति दिएको छैन ।
त्रिविका अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक विष्णु खनालले अहिलेसम्म कसैलाई पनि पार्टी कार्यालयमा काम गर्न स्वीकृति नदिएको बताए ।
त्रिविका प्राध्यापकले अन्यत्र पढाउन तथा गैरसरकारी संस्थामा आंशिक समय काम गर्न कार्यरत संस्थाबाट समेत अनुमति लिनुपर्छ । पराजुली कार्यरत रहेको पाटन संयुक्त क्याम्पसले समेत उनलाई सिफारिस गरेको छैन ।
क्याम्पसप्रमुख लक्ष्मणसिंह कुँवरले कसैले पार्टी कार्यालयमा काम गरेको जानकारी नभएको र आफू आएपछि सिफारिससमेत नगरेको बताए । क्याम्पसप्रमुख कुँवरले भने, ‘म क्याम्पस चिफ भएपछि पार्टी कार्यालयमा काम गर्न सिफारिस गरेको छैन, त्यसबारेमा मलाई जानकारी पनि छैन । पार्टी कार्यालयमा काम गर्नु नैतिकताको कुरा हो।’