काठमाडौं- अग्रपंक्तिमा खटिएर संक्रमितको सेवा गर्ने स्वास्थ्यकर्मीले सरकारबाट घोषित जोखिम भत्तासमेत पाएका छैनन्, बिमा भएको छैन ।
कतिपय अस्पतालमा त नियमित तलबसमेत रोकिएको छ । यो प्रतिकूल अवस्थामा पनि स्वास्थ्यकर्मीले आफ्नो धर्म छाडेका छैनन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।
नेपालमा संक्रामक रोगको उपचार गर्ने अस्पताल हो सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु । ९ माघमा नेपालमा पहिलो संक्रमण देखिएयता यो अस्पतालका स्वास्थ्यकर्मी महिनौँसम्म घर नगई संक्रमितको उपचारमा खटिएका छन् ।
तर, टेकु अस्पतालमै कार्यरत स्वास्थ्यकर्मीले मासिक तलबसमेत नियमित पाएका छैनन् । सरकारले स्वास्थ्यकर्मीहरूलाई उनीहरू खट्ने क्षेत्र हेरेर १००, ७५ र ५० प्रतिशतसम्म जोखिम भत्ता दिने निर्देशिका जारी गरेको थियो ।
‘भत्ता त परको कुरा, नियमित तलबसमेत दुई महिनादेखि पाएका छैनौँ, स्वास्थ्यकर्मीको मनोबल के छ भनेर सोचिदिने कोही छैन,’ एक चिकित्सकले भने।
अस्पतालका निर्देशक डा.सागर राजभण्डारी बजेट नआएका कारण दुई महिनादेखि तलब दिन नसकिएको बताउँछन् ।
‘नयाँ आर्थिक वर्ष सुरु भएपछि अस्पतालको नयाँ योजना बनाउनुपर्छ, त्यसैले ढिला भएको हो । तर, सकेसम्म छिटो दिने प्रयासमा छौँ।’ भत्ता भने मन्त्रालयसँग माग गरिएकाले कहिले आउँछ भनेर आफूले भन्न नसक्ने उनले बताए।