काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक तथा समन्वय विभागमा मनोनित विष्णु धितालले कम्युनिस्ट सरकारले राजनीतिक प्रतिशोधका आधारमा झुठो मुद्दा लगाएको बताएका छन्।
तत्कालीन एपेक्स डेभलप्मेन्ट बैंकले एनसीसी बैंकसँग मर्जर सहमति भइसकेपनि बैंक कसुरमा धिताल पक्राउ परेका थिए।
अदालतमा विचाराधीन मुद्दा रहेकै बेला कांग्रेसले धिताललाई बिहीबार शुभेच्छुक तथा समन्वय विभागको उपप्रमुख बनाएको थियो। धरौटीमा रिहा भएका धितालले आफ्नाविरुद्ध नेकपा सरकारले राजनीतिक प्रतिशोध लिएको बताए।
राजनीतिक आस्थाकै आधारमा मुद्दा चलाइएको उनले दाबी गरे। अदालतबाट पूर्ण सफाइ नपाइसकेका धितालले भने, ‘कोरोनाको विषम परिस्थितिमा अदालती प्रक्रियाको विलम्ब भएको छ। निर्णय हुन केही ढिलाइ भए पनि म सम्मानित अदालतबाट न्याय पाउनेमा विश्वस्त छु।’
कर्जा नतिर्ने नियतले नै कमसल धितोमा गलत मूल्यांकन भएको थियो। अनुसन्धानका क्रममा नक्कली ऋणी खडा गरेर समेत मुद्दा दायर भएको खुलेको थियो। २०७२ मंसिरमा मर्जर प्रक्रियामै रहेका बेला धितालसहितको टोलीले योजनाबद्ध ठगी गरेको अनुसन्धानबाट खुलेको थियो।
बैंकिङ कसुरमा पक्राउ परेका उनी २०७५ भदौमा धराटीमा छुटेका थिए। प्रारम्भिक अनुसन्धानमा एक अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैयाँ घोटाला भएको जनाइएको थियो।