काठमाडाैं- इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले समुदायमा कोरोना भाइरस संक्रमणको अवस्थाबारे जान्नका लागि छुट्टाछुट्टै रूपमा ‘सेरोप्रिभेलेन्स’ अध्ययन गर्ने भएका छन् ।
दुवै अध्ययनका लागि एनएचआरसीको इथिकल कमिटीमा प्राप्त प्रस्ताव आइतबार अनुमोदन भएको हो । सेरोप्रिभेलेन्स समुदायमा संक्रमणको अवस्था पत्ता लगाउने विधि हो ।
ईडीसीडीले पहिलो चरणमा प्रत्येक प्रदेशमा ४ सय ५० जनाका दरले ३ हजार १ सय ५० जनाको एन्टिबडी परीक्षण गर्नेछ । सेरोप्रिभेलेन्स टेस्टका लागि सातै प्रदेशमा विभिन्न मापदण्डका आधारमा निर्धारण गरिएको स्थानबाट निश्चित व्यक्तिका रगतको नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिने खबर कान्तिपुर दैनिकमा स्वरुप आचार्यले लेखेका छन् । ।
‘हामीले सेरोप्रिभेलेन्स अध्ययन गरेर समुदायमा कुन संक्रमणको दर हेर्न खोजेका हौं, सबै काम द्रुत गतिमा अगाडि बढिरहेको छ,’ ईडीसीडीका महानिर्देशक डा. वासुदेव पाण्डेले भने ।
एनएचआरसीले भने काठमाडौं उपत्यकाभित्र सय जनाभन्दा बढी कार्यरत रहेका अस्पतालका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीका साथै तिनका परिवारको समेत एन्टिबडी परीक्षण गर्नेछ ।
एनएचआरसीले बनाएको मापदण्डअनुसार ७ सय ८४ जना स्वास्थ्यकर्मी तथा स्नोबल स्याम्पलिङका आधारमा ७ सय ८५ जना स्वास्थ्यकर्मीको परिवारका सदस्यको परीक्षण हुनेछ । एनएचआरसीले संकलन गरेको नमुना भने कुनै एक सरकारी अस्पतालमा परीक्षण गरिने छ ।
‘ईडीसीडीले समुदायको परीक्षण गर्ने भएपछि हामीले स्वास्थ्यकर्मी र तिनका परिवारमा मात्र केन्द्रित भएर सेरोप्रिभेलेन्स अध्ययन गर्न लागेका हौं,’ एनएचआरसीका कार्यकारी प्रमुख तथा सदस्य सचिव डा. प्रदीप ज्ञवालीले भने, ‘आइतबार दुवै अध्ययनका लागि इथिकल कमिटीले प्रस्ताव अनुमोदन गर्यो ।’