काठमाडौं- ‘जिउँदाको जन्ती, मर्दाको मलामी’ हाम्रो समाजमा चल्तीको उखान हो। जिउँदो छँदा जन्ती र मर्दा मलामी कमाउनुलाई समाजले निकै उपलब्धि ठान्छ।
तर कोरोना कहरमा यो उखानले उति मेल खाँदैन। मर्दा पनि एक्लै (मलामीबिना) हुन र परिवारका सदस्य पनि एक्लै थुनिएर बस्नुपर्ने अवस्था कोरोनाले ल्याइदिएको छ। मृतकका मलामी केही सुरक्षाकर्मी र शववाहनका चालकमात्र हुने गरेका खबर आजको नागरिक दैनिकमा पोखराबाट सन्तोष पोखरेलले लेखेका छन्।
त्यसबाहेक आफन्त गुमाउँदा शोकमा परेका परिवारका सदस्यलाई सान्त्वना दिन पनि घरमा कोही पुग्दैनन्। एकातिर संक्रमणको डरले आफन्तको भेटघाट रोकिएको छ भने अर्कोतिर सामाजिक दृष्टि पनि उत्तिकै डरलाग्दो बन्दै गएको छ।
आफन्त गुमाउँदाको पीडामा परेका परिवारका सदस्यको घाउमा मलम लगाउन यो कहरमा कोही पुग्दैन। यसले पीडितलाई झनै पीडा हुने गरेको छ।
यही भदौ २ गते तनहुँको व्यास नगरपालिका–१ घर भएकी ५० वर्षीया महिलाको पोखरामा कोरोना संक्रमणबाट मृत्यु भयो। सरकारी निकायले उनको शव पोखरामै व्यवस्थापन गरिदियो। तर ती महिलाकी छोरीलाई परेको यो पीडामा साथ दिने कोही भएन। १२ कक्षा पढ्दै गरेकी ती छोरी आमासँगै दमौलीको अम्रेनीमा बस्दै आएकी थिइन्।
घरदेखि पोखरासम्म आमाको रेखदेखमा खटिएकी छोरीमा पनि परीक्षण गर्दा कोरोना पुष्टि भयो। त्यसपछि छोरीलाई उपचारका लागि तनहुँको खैरेनीटारस्थित जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा लगियो। उनी निको भएर आइतबार घर फर्किइन्।