काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन्।
कोरोना संक्रमणपछि घरमै आइसोलेसनमा बसिरहेका उनलाई एकाएक ज्वरो आएपछि ओम अस्पताल भर्ना गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
कोइरालालाई हिजो साँझ १०३ डिग्री ज्वरो आएको थियो। ज्वरो कम नभएपछि राति नै अस्पताल भर्ना गरिएको हो। अहिले ज्वरो घटेपनि निमोनिया देखिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताए।
कोइरालाको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वको चिकित्सक टोली खटिएको छ।
६ दिनअघि पीसीआर परीक्षणका क्रममा कोइरालाको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि उनी होम आइसोलेसनमा बसिरहेका थिए।