काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको संविधान २०७२ ले मुलुकको राजनीतिक प्रणालीको टुंगो लगाएकाले यसको मौलिकता र संरचनामा खलल पुग्नेगरि संसोधन गर्न नहुने बताएका छन्।
प्रधानमन्त्री केपी ओलीले प्रणालीगत, संरचनागत र कानुनी पक्षका हिसाबले पनि जनता र देशको आवश्यकता अनुसार संशोधन गर्न सकिने बताएलगत्तै पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन्।
पाँचौ संविधान दिवसका अवसरमा शुभकामना दिँदै पौडेलले संविधानको मौलिकता र संरचनामा खलल पुग्नेगरि संशोधन गर्दै देशलाई बारम्बार प्रयोगको थलो मात्र बनाउने अधिकार कसैलाई नभएको बताएका छन्।
उनले नेपाली जनताको लामो संघर्षपछि र धेरै दुःख मिहिनेत गरेर नेपालको वर्तमान संविधानको बनेको उल्लेख गर्दै संविधानले नेपालका सबै जातजाती, भाषाभाषी संस्कृतिहरुको भावनालाई समेत समेटेर देशमा राजनीतिक प्रणालीको टुंगो लगाएको बताए ।
पौडेलले नितान्त लोकतान्त्रिक मान्यतामा आधारित भएर बनेको बर्तमान संविधानलाई कार्यान्वयनमा ल्याएर जनतालाई न्याय र समृद्धि दिनु हामी सबैको साझा कर्तव्य भएको उल्लेख गरेका छन् ।
उनले संविधान निर्माणकै क्रममा रहेको केही सामान्य गुनासाको संवोधन सबैको सहमतिमा गर्न सकिने बताए।
‘प्रणालीगत हिसाबले र संरचनात्मक हिसाबले संविधानको मौलिकतामा खलल पुर्याउने गरी सशोधन गर्दै देशलाई बारम्बार प्रयोगको थलो मात्र बनाईराख्नु नत राष्ट्र हितमा छ, नत त्यस्तो अधिकार कसैलाई छ,’ पौडेलल भनेका छन्।