काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेताहरू महाधिवेशनलाई लक्षित गर्दै फरक समूहमा रहेका नेता फकाउन र आफू अनुकूलको समूह बनाउन लागिपरेका छन्।
आगामी फागुनका लागि तय भएको कांग्रेसको १४औं महाधिवेशन कोरोना संक्रमणका कारण पूर्वनिर्धारित मितिमा नहुने तर ६ महिना थप हुँदा तयारी अपुग हुने भन्दै शीर्ष नेताहरू अहिलेबाटै तल्ला तहदेखिका नेता कार्यकर्ता फकाउन र शक्ति देखाउन अघि सरिरहेका छन्।
सभापति शेरबहादुर देउवा पार्टीका विभागमा आफु अनुकूलका नेता कार्यकर्ता तलैदेखि भरेर महाधिवेशनको माहोल बनाउँदै छन्। उनले आफूले गठन गरेका विभागहरूमा हाल आएर सदस्यहरूसमेत धमाधम मनोनीत गरिरहेका खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।
सभापति देउवाले आफू पक्षीयबाहेकका तल्ला तहमा प्रभाव राख्ने नेता कार्यकर्तालाई बूढानीलकण्ठस्थित निवासमै बोलाएर फकाउन अनेक प्रयत्न गर्दै आइरहेका छन् । यस्तै उनले आफूइतर पक्षका नेताहरूलाई समेत आफू अनुकूलको भर्चुअल अन्तक्र्रियामा सहभागी गराउँदै महोल देखाइरहेका छन्।
यसैगरी, सोही समूहबाट सभापतिका लागि तयारी अघि बढाएका हालका उपसभापति विमलेन्द्र निधिले समेत भेटघाट र सम्पर्क बढाएका छन्।