काठमाडौं- नेपाल वायुसेवा निगमबाट पछिल्लो पाँच महिनामा १५ विदेशी पाइलटहरूले १० करोड ८४ लाख रुपैयाँ लगेका छन्। सोही अवधिमा २१ नेपाली पाइलटको खर्च भने १ करोड ८४ लाख मात्रै रहेको छ।
स्वदेशी र विदेशी पाइलटको खर्चमा अत्यधिक अन्तर हुँदा पनि नेपाली पाइलट उत्पादनमा व्यवस्थापनले जोड दिन सकेको छैन। चैतदेखि साउनसम्म ८ विदेशी पाइलटहरूले एउटा पनि उडान नगरेको तथा २ जनाको क्रमशः ४ र ५ घन्टा मात्रै रहेको निगमले जनाएको छ।
निगम व्यवस्थापनले खर्च कटौती गर्न भन्दै गत साउनदेखि १ सय ४५ जना करार कर्मचारी नियुक्ति तथा नवीकरण रोकेको छ।
यसबाट वार्षिक २२ लाख ८० हजार जोगिएको छ। तर, उडान नै नगरेका विदेशी पाइलटलाई तलब दिँदा निगमलाई चर्को भार परेको छ। संसारभरका एयरलाइन्सहरूले पाइलट कटौती गरे पनि निगमले भने विदेशी करार पाइलटसमेत राखेको खबर आजको नयाँ पत्रिकामा केदार दाहालले लेखेका छन।
केही महिनाअगाडि करार सकिएका अधिकांश पाइलटको समेत नवीकरण गरिएको छ। निगमको हाल एयरबस ३३० मा १३ जना विदेशी पाइलट रहेका छन् भने एयरबस ३२० मा २ जना विदेशी पाइलट रहेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पटक–पटक निगमको खर्च कटौती गरेर चुस्त बनाउने घोषणा गरे पनि उडान नै नगरेका विदेशी पाइलट हटाउन वा बिदामा राख्न पहल नगर्दा निगमलाई करोडौँको भार परेको छ।
पाँच महिनामा सबैभन्दा धेरै एयरबस ३३० का क्याप्टेन जेम्सले १ करोड ७ लाख बुझेका छन्। उनले ६ महिनामा ४५ घन्टा मात्रै उडान गरेका थिए । त्यस्तै, प्रिया पालले पाँच महिनामा ५९ घन्टा उडाएर ९२ लाख बुझेका छन्।
उदय कोलाटरले पाँच महिनामा ५ घन्टा उडान गरेर ७६ लाख रुपैयाँ बुझेका छन् । सुधिर टमोर, अतेलिया आल्दिन, रोरी मिरान्डो, इयान डेनिसले उडान नै नगरी ७६ लाखका दरले बुझेका छन्।