काठमाडौं- कोरोना भाइरसको संक्रमणको अवस्थामा रहेकाहरुको उपचारका लागि प्रयोग हुँदै आएको फाविपिराविर-२०० औषधि नेपालमा पनि उत्पादन हुन थालेको छ।
नेपाली औषधि कम्पनी देउराली–जनता फर्मास्युटिकल्स प्रालिले नेपालमै पहिलो पटक यो औषधि उत्पादन गरेर बजारमा दिन थालेको हो ।
यो औषधिले मंगलबार कोभिड–१९ को उपचारका लागी क्लिनिकल अध्ययन प्रयोजनको लागि उपलब्ध गराउने गरि औषधि व्यवस्था बिभागबाट स्विकृति पनि पाइसकेको छ ।
कम्पनीले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘फाविपिराविर एन्टीभाइरल औषधिलाई विश्वका धेरै मुलुकहरुले कोभिड–१९ का बिरामीहरुमा परीक्षणपश्चात प्रयोग गरिरहेका छन्।
हालसम्म फाविपिराविर औषधि जापान, चीन, रसिया, अमेरिका, टर्की, क्यानडा, भारत र बंगलादेश लगायत धेरै देशमा सरकारले कोभिड–१९ को उपचारमा बिरामीलाई अत्याबश्यक भए प्रयोग गर्न अनुमति प्रदान गरिसकेका छन्।
नेपालीको उपचारमा पनि सहयोग हुने हुनाले उत्पादन सुरु गरिएको छ’
कम्पनीेले आफ्नो दायित्व बोधगरि कोभिड–१९बाट संक्रमित ब्यक्तिलाई औषधि अभावको कारणले हतास हुन नपरोस् भन्ने उद्देश्यका साथ नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था बिभागबाट उत्पादनको अनुमति लिई नेपालमा नै पहिलोपटक यो औषधि उत्पादन सुरु गरिसकेको बताएको छ।