गोरखा- केन्द्र विवादका कारण पटक-पटक रोकिदै आएको गण्डकी गाउँपालिकाको गाउँसभा पुन: अनिश्चित बनेको छ । शनिबारका लागि बोलाइएको गाउँसभा बहुसंख्यक सदस्यले वहिस्कार गरेपछि अनिश्चित बनेको हो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा निकटका जनप्रतिनिधिले पुर्वसहमति अनुसार गाउँसभा संचालन नहुने भएपछि आजको सभा वहिस्कार भएकाे हाे ।
गाऊँसभामा प्रतिनिधित्व गर्ने ४४ जना सदस्य मध्ये सभामा २२ जनाको मात्रै उपस्थिति रहेको गाऊँपालिकाका अध्यक्ष हाेमबहादुर रानाले बताए । गाऊँसभाका ४४ सदस्यमध्ये नेपाली काँग्रेसबाट निर्वाचित १९ जना र नेकपाबाट निर्वाचित २५ जना रहेका छन् ।
आजको गाऊँसभा स्थगित भएपनि कानूनी प्रक्रिया अनुसार अर्को सभा असोज १३ गतेका लागि बोलाइएको अध्यक्ष गुरुङले बताए । स्थानीय तहको गाऊँसभा सञ्चालन सम्बन्धी ऐन कार्यविधि अनुसार गणपूरक संख्या नपुगेर स्थगित भएको सभा उक्त मितिको ३ दिनभित्र फेरि बोलाउनु पर्ने प्रावधान रहेको छ ।
‘पुर्वसहमति अनुसार बैठक अघि बढेन, त्यसकारण हामीले गाउँसभा उपस्थित हुन सकेनौ’ वडाअध्यक्ष जीवन गुरुङले भने।
गणपुरक नपुगे बैठक अगाडी बढ्न नसक्ने गाउँपालिकाका कार्यकारी प्रमुख पुरण गुरुङले बताए । गाउँसभा हुन अनिवार्य बहुमत सदस्यको आवस्यकता पर्ने कानुनि व्यवस्था छ।
केन्द्रको टुङ्गो लागे पछि खर्च गर्ने गरी प्रशासनिक भवन, वडा नं ६ र ८ को कार्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेर समपूरक कोषमा राख्ने गत भदौं २५ गते कार्यपालिकाको बैठकमा सहमति भएको थियो ।
गाउँपालिकाका अध्यक्षले उक्त सहमति कार्यनयन नगरी लुकिछिपी नयाँ प्रस्ताव ल्याएको नेकपा निकट जनप्रतिनिधिको आरोप छ ।
‘छलछाम गरि शिर्ष नेताको बार्ताबाट टुंगो लगाएर मात्र अघि बढ्ने भन्ने छ ‘ वडा नम्बर ७ का वडाअध्यक्ष तुलसी रेग्मीले भने ‘यस अघिको सहमतीलाई लत्याएर विविध शिर्षकबाट गाउँपालिकाको केन्द्रको समन्धमा चुनाब गर्ने भन्ने एजेन्डा बनाएकोले आजको गाउँसभा वहिस्कार गरेका हौ’ ,
केन्द्रको टुङ्गो नलागेको अवस्थामा गत असार १६ गते प्रशासनिक भवन निर्माणका लागि बजेट विनियोजन गर्ने प्रस्तावमा सहमति हुन नसक्दा गाउँसभा हुन सकेको छैन ।
गाऊँपालिकाको केन्द्र सम्बन्धी विवादका कारण उक्त पालिकाले गाऊँसभा गर्न सकेको छैन । सभा नहुँदा चालु आर्थिक वर्षको वजेट प्रस्ताव पनि स्विकृत हुने सकेको छैन । गाऊँपालिकाको केन्द्र भूम्लीचोकको ओखलडाँडा वा बनटार कहाँ कायम गर्ने भन्ने विषयमा गाऊँकार्यपालिकामा प्रतिनिधित्व गर्ने दलहरुविच एकमत नहुँदा त्यसको प्रभाव गाऊँसभामा परेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको नामाङ्कन र सिमाङ्कन गर्ने क्रममा यो गाऊँपालिकाको केन्द्र साविकको भूम्लीचोक गाविसको कार्यालयमा रहने भनि निर्धारण गरेको थियो ।