काठमाडौं- चाडपर्व नजिकिएसँगै गाउँमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्ने भएको छ। काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रबाट चाडपर्वमा घर जाने भएकाले गाउँघरमा सङ्क्रमणको जोखिम बढ्ने भएको हो।
अहिले धेरै सङ्क्रमित बजार क्षेत्रका मानिसमा हुने गरेको र ती मानिस दशैं, तिहार, छठलगायत चाडपर्वमा घर जाने भएकाले गाउँघरतिर सङ्क्रमण फैलिने खतरा रहेको छ।
लकडाउन खुलेसँगै अहिले बजारमा मानिसको चहलपहल बढेपछि सङ्क्रमित सङ्ख्या पनि ह्वात्तै बढेको छ।
अब तीनै मानिस गाउँघरमा जाँदा सङ्क्रमण फैलिने डर रहेको छ। चाडपर्व नजिकिँदै गर्दा मानिस अब गाउँघरतिर जान थालेका छन्। विद्यालय, कलेज बन्द भएका बेला कतिपय विद्यार्थी घर गइसकेका छन् भने अब केही जाने तयारीमा छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ मानिसको नजिकको सम्पर्कबाट सर्ने हुँदा भीडभाड नगरी चाडपर्व मनाउन आग्रह गरेको छ।
मन्त्रालयले सकभर दशैँमा घर नजान, जानै परे घर गइसकेपछि कम्तीमा १४ दिन होम क्वारेन्टाइनमा बस्नसमेत अनुरोध गरेको छ।
बस वा हवाइजहाजमा घर जाँदा मास्कको प्रयोग गर्ने, अर्को मानिससँग कुरा गर्दा कम्तीमा दुई मिटर दूरी टाढा राख्ने, बेलाबेलामा साबुनपानी र स्यानिटाइजरको प्रयोग गर्नसमेत आग्रह गरिएको छ।