काठमाडौँ- सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौँ उपत्यकामा बसोबास गर्नेलाई उच्च सर्तकता अपनाउन आग्रह गरेका हुन् ।
गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले अरु जिल्लामा कोरोना संक्रमण नियन्त्रणको अवस्थामा रहेपनि काठमाडौँमा संक्रमण रोकथाम उन्मुख नभएकोले उच्च जोखिमको अवस्थामा रहेको उल्लेख गरे ।
स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने नयाँ संक्रमितमा आधाभन्दा धेरै उपत्यकाको भएको भन्दै उनले भने, ‘४० लाख बसोबास भएको काठमाडौं उपत्यकामा कोरोना अनियन्त्रित भयो भने जोखिम बढ्छ । त्यसैले सेवा दिँदा वा लिँदा, सार्वजनिक सवारीमा चढ्दा वा हिँडडुल गर्दा, अरु खालका गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यान दिन जरुरी छ ।’
दशैं पारिवारिक पुनर्मिलन र आर्शिवाद लिने चार्ड भएको तर कोरोनाको उच्च जोखिमा जेष्ठ नागरिकहरु रहेको भन्दै उनले यसतर्फ ध्यान दिन आग्रह गरेका छन् ।
अरु बेला जस्तो काठमाडौं-गाउँ-काठमाडौं ओहारदोहोर गर्दा संक्रमण पनि ओहोरदोहोर हुने भन्दै उनले सतर्क रहन आग्रह गरेका छन् ।