काठमाडौँ- सरकारले दशैंमा उपत्यकाबाट नबाहिरीन सबैमा अपिल गरेको छ। उपत्यकाबाट बाहिरीने र फेरि गाउँबाट फर्किंदा कोरोनाको जोखिम बढ्ने भन्दै यसपटक उपत्यका नछाड्न सरकारले सबैमा आग्रह गरेको हो ।
मन्त्रीपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलमनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दशैंमा आशिर्वाद थाप्नुपर्ने ज्येष्ठ नागरिकहरु कोरोनाको उच्च जोखिममा रहेकाले यसपटक आवतजावत गरेर बृद्धबृद्धाको जोखिम नबढाउन आग्रह गरेका हुन् ।
सबै स्वास्थ रहे अर्को वर्ष पनि चाडवाड मनाउन सकिने भन्दै मन्त्री ज्ञवालीले आशिष लिने महत्व भएपनि ज्येष्ठ नागरिकहरु सबैभन्दा जोखिममा रहेकाले उनीहरुको जीवन रक्षमा गम्भीर बन्न अनुरोध गरेका हुन् ।
पारीवारिक पुनर्मिलन र अग्रजहरुको आशिर्वाद थाप्ने महत्वपूर्ण दशैं मुखैमा आएको स्मरण गर्दै प्रवक्ता ज्ञवालीले यसपटक त्यसो नगरीदिन आग्रह गरे । उनले काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा रहेको भन्दै उपत्यकाबासीलाई उच्च सतर्कता अपनाउन आग्रह समेत गरेका छन् ।
कोरोनाको जोखिम देशैभरी घट्दै गएपनि उपत्यका अझै उच्च जोखिममा रहेकाले सबै किसिमका स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक गतिविधि संचालन गर्नुपर्ने सरकारको सुझाव छ ।