काठमाडाैं- गोरखा ब्रुअरीले उत्पादन गर्दै आएको बियरमा तोकिएको गुणस्तर नपुगेपछि आन्तरिक राजश्व विभागले नयाँ अन्त:शुल्क निर्धारण गरेको छ।
गोरखा ब्रुअरीले उत्पादन गर्दै आएका बियरहरुको गुणस्तर मापन गरिएको थियो। बियर उत्पादनको क्रममा जौको मात्रा ५० प्रतिशतभन्दा न्यून पाइएपछि आन्तरिक राजश्व कार्यालयले विभागलाई वर्गिकरणका लागि आग्रह गरेको थियो।
अन्त:शुल्क ऐनअनुसार बियर भन्ने एकमात्र वर्गिकरण छ। जसमा ५० प्रतिशत जौको मात्रा हुनुपर्छ। तर गोरखा ब्रुअरीको उत्पादनमा जौको मात्रा पुगेको थिएन।
यसरी मापदण्ड नपुगेपछि विभागले बियरको बर्गिकरण दुई भागमा गरिदिएको छ। ५० प्रतिशत जौको मात्रा पुगेको बियरलाई साविककै दर लागू हुने र त्यो मापदण्ड पुरा नगर्ने बियरलाई उच्च अल्कोहल हुने अन्य मदिरा सरहको कर निर्धारण गर्ने वर्गिकरण गरिदिएको छ।
विभागको यो वर्गिकरणसँगै जौको मात्रा नपुगेका उत्पादनमा प्रतिलिटर ४६५ रुपैयाँ अन्त:शुल्क दरबन्दी तोकिएको छ। गोरखा ब्रअरीको बियरमा मापदण्ड नपुगेको पाइएपछि एक हप्ता उत्पादन बजारमा गएको थिएन। यद्यपी अहिले भने नयाँ उत्पादन समिकरणबाट उसले उत्पादन सुरु गरिसकेको छ।
पछिल्लो समय गोरखा ब्रुअरी कर छलीको प्रकरणमा विवादित बन्दै आएको छ। यसअघि गोरखा ब्रुअरीमाथि आन्तरिक राजश्व कार्यालयले कर निर्धारण गर्दा न्यायाधिसलाई प्रभावमा पारेको थियो।
क्षेत्राधिकार मिचेर गोरखा ब्रुअरीको मुद्दा लिएर फैसला गरेको भन्दै तीनजना न्यायाधिसमाथि न्यायपरिषदले कारबाही गरेको थियो। ती मध्ये २ न्यायाधिसले राजिनामा दिएका थिए भने एकजनालाई बर्खास्त गरिएको थियो।